×

चितवन –इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७८ करोड १५ लाख ३६ हजार रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। यो बजेट अघिल्लो वर्षको तुलनामा २६ लाख ४४ हजार रूपैयाँले बढी हो।

गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालद्वारा आइतबार गाउँसभा बैठकमा प्रस्तुत बजेटमा संघीय सरकारबाट ४६ करोड ३६ लाख र प्रदेश सरकारबाट ६ करोड ९८ लाख ५७ हजार रूपैयाँ आय हुने अनुमान गरिएको छ।

त्यसमध्ये संघीय राजस्व बाँडफाँडबाट ९ करोड ६८ हजार र प्रदेशतर्फको बाँडफाँडबाट ४ करोड ३५ लाख रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। गाउँपालिकाले आन्तरिक स्रोतबाट १० करोड ३२ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ।

बजेटमा चालू खर्चका लागि ४३ करोड ३२ लाख ३६ हजार र पुँजीगत खर्चतर्फ ३४ करोड ५३ लाख रूपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, संघ र प्रदेश सरकारबाट फिर्ता हुने अनुदान वापत २ करोड ५० लाख रूपैयाँ र अघिल्लो आर्थिक वर्षको भुक्तानीका लागि ७० लाख रुपैयाँ छुट्याइएको छ।

उपाध्यक्ष सिलवालका अनुसार सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढी ३५ करोड १६ लाख ९१ हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ। त्यसैगरी पूर्वाधार विकासतर्फ २५ करोड ७९ लाख ६ हजार, आर्थिक विकासतर्फ ६ करोड ४० लाख ८५ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ५६ लाख ३० हजार र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ करोड २२ लाख २१ हजार रूपैयाँ छुट्याइएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बजेटले सबै पाँचवटा विषयगत क्षेत्र समेट्ने प्रयास गरेको बताए। “गाउँपालिकावासीको हितमा काम गर्ने गरी बजेट तयार गरिएको हो,” उनले भने, “यसले अघिल्लो वर्षमा भएका कमजोरी सच्याउँदै समावेशी र दिगो विकासमा मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।”

बजेट सार्वजनिक गर्नुअघि गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। अध्यक्ष गुरूङका अनुसार नीति तथा कार्यक्रमले समग्र इच्छाकामना क्षेत्रको समावेशी विकास, सीमान्तकृत वर्ग, लिङ्ग तथा क्षेत्रगत विभेदमा परेका समुदायलाई आर्थिक लाभमा रूपान्तरण गर्ने, युवालाई स्वरोजगारमा जोड्ने तथा उद्यमशीलता प्रवर्द्धनमार्फत गरिबी न्युनीकरण गर्ने लक्ष्य राखिएको छ।

नीति तथा कार्यक्रममा सबै वडाको सडक स्तरोन्नति, ग्रामीण क्षेत्रमा भरपर्दो विद्युत सेवा, अव्यवस्थित बस्ती व्यवस्थापन, भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा वितरण, फोहोरमैला व्यवस्थापनलाई आयमुखी बनाउने लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ।

गाउँसभाले अध्यक्ष गुरूङद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष सिलवालद्वारा प्रस्तुत बजेट तथा वार्षिक कार्यक्रमलाई सर्वसम्मत पारित गरेको छ।

तपाईको प्रतिक्रिया