×

चितवन-  चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ९५ करोड ७ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार बसेको सातौं नगरसभामा उपमेयर विमला तामाङले बजेट प्रस्तुत गरेकी हुन्।

उपमेयर तामाङका अनुसार नगरपालिकाको अनुमानित आन्तरिक आय ७ करोड रुपैयाँ रहनेछ भने बाँकी रकम संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानमार्फत जुटाइनेछ।नगरप्रमुख विनोद रेग्मीले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको जानकारी दिए।

नगरपालिकाले कृषि व्यवसाय दर्ता तथा नवीकरण शुल्क न्यूनतम १ सय रुपैयाँमा झार्ने निर्णय गरेको छ। यसअघि यो शुल्क १ हजारदेखि ५ हजार रुपैयाँसम्म थियो। “कृषि क्षेत्रमा युवाहरूलाई आकर्षित गर्न र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न यसपटक छुट तथा अनुदानका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ,” मेयर रेग्मीले बताए।

कालिका नगरपालिकामा मह, केरा, च्याउ, तरकारी उत्पादन, साथै दूध र मासुको लागि व्यावसायिक पशुपालन फस्टाइरहेको छ। मेयर रेग्मीका अनुसार यान्त्रिकीकरण, सिँचाइ, जैविक विषादी प्रयोग, गुणस्तरीय बीउबिजन, भण्डारण र बजारीकरणमा नगरपालिकाले सहजीकरण गर्नेछ।

सामूहिक खेती र अर्गानिक उत्पादनलाई प्रवर्द्धन गर्न प्रांगारिक मल, झोल मल, भर्मी कम्पोस्ट उत्पादनमा विशेष अनुदानको व्यवस्था गरिनेछ।कालिकाका वडा नम्बर १० र ११ मा रहेको चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गरिने मेयर रेग्मीले जानकारी दिए।

विपन्न परिवारलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम पनि आगामी वर्ष निरन्तरता पाउनेछ। चालु आर्थिक वर्षमा ९१० परिवारका ३ हजार ३८३ जनाको स्वास्थ्य बीमा गरिएको थियो जसमा ३० लाख ९५ हजार रुपैयाँ खर्च भएको उपमेयर तामाङले जानकारी दिइन्।

कालिका नगर अस्पतालमा दन्त सेवा थप गर्ने र इन्डोर सेवा सुरु गर्ने तयारी गरिएको छ। प्रवक्ता लक्ष्मण पौडेलका अनुसार ‘मेयर केयर’ र ‘उपमेयरसँग बालबालिका’ कार्यक्रममार्फत सबै बालबालिकालाई विद्यालय जान प्रोत्साहित गरिनेछ।पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्यको पहिचान, उद्यमशीलता अभिवृद्धिका लागि युवा लक्षित सीपमूलक कार्यक्रम, केन्द्रदेखि वडासम्मको पक्की सडक निर्माण र आर्थिक पारदर्शितामार्फत बेरुजु शून्यमा झार्ने लक्ष्य बजेटमा समेटिएको छ।

चालु आर्थिक वर्ष २०७९/८० मा कालिका नगरपालिकाको बजेट ९२ करोड ९७ लाख ७४ हजार रुपैयाँ थियो। यस वर्षको जेठ मसान्तसम्ममा ७२.३४ प्रतिशत चालु खर्च र ४२.७७ प्रतिशत पुँजीगत खर्च भएको वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालले जानकारी दिए।

तपाईको प्रतिक्रिया