×

चितवन– चितवनको राप्ती नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा अमर बहादुर वली आएका छन् ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वलीलाई राप्तीमा पठाएसँगै लामो समयदेखि रिक्त रहेको प्रशासकीय नेतृत्व पद पुनः सक्रिय भएको छ।

वलीको आगमनसँगै नगरपालिकाको प्रशासनिक पक्षमा स्थायित्व आउने विश्वास गरिएको छ। नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण विभिन्न नीतिगत र प्रशासनिक काम ठप्पजस्तै भएका थिए। राप्ती नगरपालिकामा स्थायी कर्मचारीले जेठ महिनादेखि, ज्यालादारी कर्मचारीले कार्तिक महिनादेखि, र करार सेवामा रहेका कर्मचारीले माघ महिनादेखि अहिलेसम्म पनि तलब पाएका छैनन्। अब वलीको पदस्थापनसँगै त्यो समस्या समाधान हुने आशा गरिएको छ।

वली स्थानीय शासनको क्षेत्रमा अनुभवी मानिन्छन्। यसअघि विभिन्न पालिकामा काम गरिसकेका उनले अब राप्तीमा स्थायित्व, पारदर्शिता र सेवाप्रवाहमा सुधार ल्याउने योजनाका साथ कार्यभार सम्हालेका छन्। राप्ती नगरपालिकामा हाल विकास निर्माणका परियोजनाहरू, सामाजिक सेवा कार्यक्रम, बजेट खर्चलगायतका कामहरू प्रभावकारी कार्यान्वयनको पर्खाइमा छन्। वलीको आगमनसँगै यी काममा गति आउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया