×

चितवन –चितवनको मेघौलीमा माछा मार्ने क्रममा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।भरतपुर महानगरपालिका–२८ मेघौली सेराई होटल पछाडिको राप्ती खोलामा माछा मार्न गएका ६० वर्षीय जंगे कुमालमाथि जंगली गैँडाले  राति आक्रमण गरेको प्रहरीले जनाएको छ।

घटनापछि ईलाका प्रहरी कार्यालय दिव्यनगरबाट प्रहरी निरीक्षक विनोद अधिकारीको कमान्डमा टोली खटी घटनास्थल पुगेको थियो। गम्भीर घाइते अवस्थामा भेटिएका कुमाललाई तत्कालै भरतपुर अस्पताल ल्याइएको थियो। तर, उपचारका क्रममा राति ९:०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार घटनास्थल ईलाका प्रहरी कार्यालय दिव्यनगरबाट करिब ७–८ किलोमिटर पश्चिममा पर्दछ। अहिले मृतकको शव भरतपुर अस्पतालमै राखिएको छ।निकुञ्ज क्षेत्रमा माछा मार्न वा अन्य कुनै गतिविधिमा जाँदा सर्वसाधारणलाई विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया