×

गैँडाकोट – गुल्मी घर भई हाल बुटवल उपमहानगरपालिका–१७, रानीगञ्ज बसोबास गर्दै आएकी ३२ वर्षीया सरिता भण्डारी पोखराको एक होटलमा रहस्यमय अवस्थामा मृत फेला परेकी छन्।

कास्की जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार पोखरा महानगरपालिका–६ स्थित होटल रुद्राक्षमा सरिता भण्डारीको शव फेला परेको हो।
प्रहरीका अनुसार घटना गए राति करिब १२:३० बजे घटेको अनुमान गरिएको छ भने घटनाको सूचना राति १ बजे प्रहरीलाई प्राप्त भएको थियो।

सरिता श्रीमान् राजु भण्डारी र दुई छोरासहित पोखरा घुम्न गएकी थिइन्। घटनाको विषयमा अनुसन्धान जारी रहेको र प्रारम्भिक जानकारीअनुसार उनी होटलको बरण्डा  बाट खसेको बताइएको डिएसपी बस्नेतले जानकारी दिए।

तर, पारिवारिक स्रोतले घटनालाई रहस्यमय बताउँदै अनुसन्धानमा निष्पक्षता र गहिरो अध्ययनको माग गरेका छन्। सरिताको पुर्ख्यौली घर गुल्मीको इस्मा गाउँपालिका–३, टाकुरा सिम्पानी रहेको बुझिएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। सरिताको मृत्युको कारण र घटनाको वास्तविकता के हो भन्ने विषयमा विस्तृत अनुसन्धानपछि मात्रै प्रष्ट हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया