
सांकेतिक तस्विर
गैँडाकोट- नवलपरासी पूर्वको देवचुली नगरपालिका–१७ पिप्रहरस्थित ‘द सिसोर चितवन टाइगर रिसोर्ट’ मा सेकुवा पोल्ने क्रममा एक्कासी लागेको आगोले पाँचजना घाइते भएका छन्।गएराति करिब ९:१० बजेको समयमा रिसोर्टमा बसेका व्यक्तिहरू सेकुवा पोल्दै गर्दा कोइला उछिट्टिएर आगो सल्किएको थियो। आगलागीले उनीहरूको शरीरको विभिन्न भागमा जलन भएको छ।
घाइते सबैलाई सुरुमा देवचुली नगर अस्पतालमा सामान्य उपचार गरिएको थियो। अवस्था गम्भीर हुन सक्ने देखिएपछि उनीहरूलाई चितवन मेडिकल कलेज भरतपुर हुँदै थप उपचारका लागि काठमाडौंस्थित किर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ।
घटनामा कावासोती नगरपालिका–८ निवासी ४४ वर्षीय प्रदीप कुमार भट्टराईको अनुहार तथा शरीरका विभिन्न भागमा जलन भएको छ। त्यसैगरी, ४१ वर्षीया मिना पौडेलको दुबै हात जलेको छ। ६ वर्षीया अन्नी भट्टराईको अनुहार र शरीरका भाग जलेका छन्। २६ वर्षीय अषिम राना र २४ वर्षीय अनुप गुरुङको पनि शरीरका विभिन्न भागमा जलन भएको छ। सबै घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ।
प्रहरीका अनुसार आगलागी कोइला उछिट्टिएर भएको हो भन्ने प्रारम्भिक अनुमान छ भने घटनाको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।