×

चितवन –चितवन जिल्लामा दुई फरक स्थानमा कुटपिटका घटनाहरू घटेका छन्। मदिरा सेवन र घरेलु विवादका कारण भएका यी घटनामा दुई जना घाइते भएका छन् भने कुटपिटमा संलग्न दुवै आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

राप्ती नगरपालिका–१, घलानचोकमा रहेको खुद्रा पसलमा शुक्रबार साँझ ७ बजेतिर मदिरा सेवन गरेका एकराज तामाङले पसल सञ्चालक ५० वर्षीय भीमबहादुर श्रेष्ठमाथि कुटपिट गरेका छन्। चुरोट नदिएको विषयलाई लिएर गालीगलौजपछि भएको कुटपिटमा श्रेष्ठको नाक र मुखमा सामान्य चोट लागेको छ। उनलाई तत्कालै स्थानीय भण्डारा अस्पतालमा उपचारका लागि पठाइएको छ।

कुटपिटमा संलग्न तामाङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भण्डारामा बुझाइएको  छ। घटनास्थलमा प्रहरी नायव निरीक्षक सञ्जीव दवाडीको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

त्यसैगरी, भरतपुर महानगरपालिका–२२, अम्रेला स्टेटमा  श्रीमान् बलराम बोटेले आफ्नी ३५ वर्षीया श्रीमती गीता बोटेलाई कुटपिट गरेको घटना पनि सार्वजनिक भएको छ। कुटपिटबाट घाइते भएकी गीता बोल्न सक्ने अवस्थामा रहेको र उनको उपचार भरतपुर सरकारी अस्पतालमा भइरहेको चितवन प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया