×

काठमाडौं – बिजमाण्डु डटकम र नेपाल खबर डटकममा प्रकाशित समाचारहरू हटाउन काठमाडौं जिल्ला अदालतबाट जारी गरिएको आदेश र सोही समाचारसँग सम्बन्धित पत्रकार दिलभूषण पाठकमाथि साईबर ब्युरो, नेपाल प्रहरीमार्फत जारी गरिएको पक्राउ पुर्जीप्रति प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरिएको छ। प्रकाशित वा प्रसारित सामग्रीप्रति असन्तुष्टि वा विवाद उत्पन्न भएमा त्यसको प्रारम्भिक निरूपण र मूल्यांकन गर्ने संवैधानिक तथा कानुनी अधिकार प्रेस काउन्सिल नेपालमा निहित छ।”

प्रेस चौतारीले सम्मानित अदालतप्रति पूर्ण विश्वास रहेको स्पष्ट पार्दै भनेको छ, “संविधानको रक्षा गर्ने जिम्मेवारी अदालतको हो भन्नेमा हामी प्रष्ट छौं। त्यसैले, अदालतले प्रारम्भिक आदेशको पुनरावलोकन गर्दै संविधान र विधिको मर्मअनुरूप सुधार गर्नेछ भन्ने हाम्रो दृढ विश्वास छ।”

त्यस्तै, पत्रकार पाठकमाथि जारी गरिएको पक्राउ पुर्जी तत्काल खारेज गरी प्रेस स्वतन्त्रताप्रति प्रहरी प्रशासनले प्रतिबद्धता देखाउनु पर्ने प्रेस चौतारीको माग छ।

विज्ञप्तिमा पत्रकारको पेशागत स्वतन्त्रता, प्रेस काउन्सिल नेपालको संस्थागत मर्यादा र प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रेस चौतारी नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। साथै, पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारहरूलाई अनुरोध पनि गरिएको छ।

तपाईको प्रतिक्रिया