×

-बिज्ञान पौडेल

मिति २०८२ जेठ २७ गते साँझ ५ बजेको घाम झर्दै गरेको बेला, हामीले आफ्नो दैनिकीको थकाइलाई बिदा दिँदै, चितवनका शहरी कोलाहलबाट केही क्षणको शितलता खोज्दै पहाडी गाउँतिर पाइला बढायौं। भरतपुरको तातो डामरमा ४० डिग्रीको राप झेलिरहेका हामी, केही किलोमिटर माथि पुग्दा नै एकाएक मौसम बदलिएको अनुभव गर्यौं—शितल हावा, हरियालीका सिरानी र ताजगीले भरिएको स्वच्छ वातावरण। साँच्चिकै, त्यहाँको शान्तिको स्पर्शले नै थकान भुलाइदिएको थियो।

साँझ ६:३० बजेको थियो जब हामी चौकीडाँडाको टावरमा पुग्यौं। तर, त्यहाँ पुगेर अल्झन मन लागेन। अझ केही माथि उक्लिनुपर्छ भन्ने सोच आयो। अनि थप ३० मिनेट मोटरसाइकल कुदाउँदै, साँझ ७ बजेसम्म हामी पुग्यौं ‘थुम्की होमस्टे’। त्यहाँ पुग्दा आकस्मिक रूपमा दासढुङ्गाबाट आएका २९ वर्ष उमेरका केही दाजुभाइसँग भेट भयो—अनि वातावरण झनै रमाइलो बन्यो। मुस्कुराइका साथ साँचिएका सम्बन्ध, त्यो रमाइलो भेटले हाम्रो यात्रालाई झनै आत्मीय बनायो।

दिनभरको तातो यात्रा पछि २३ डिग्रीको मौसमले हामीलाई बाँकी कुनै पनि ‘लक्जरी’ को खाँचो नरहेको महसुस गरायो। शितल हावा, टिमिक्क परेको हरियाली, रमाइला गफगाफ—सबै कुरा स्वाभाविक रूपमा उत्पन्न भएका थिए। घर अगाडि आगनमा रातको १२ बजेसम्म पनि गफमै भुलेछौं। मोबाइलको झलमल्ल प्रकाशभन्दा पर, आकाशको तारासँग रमाउने दुर्लभ अवसर त्यो थियो।

बिहान ५ बजे निद्रा खुलेको थियो। प्रकृतिको काखमा शान्त निद्राबाट उठ्दा, शरीर मात्र होइन मन पनि हलुका लागेको थियो। बिहानको चिया संगै केही तस्वीरहरु खिच्यौं, ती क्षणलाई यादमा संझनका लागि। त्यसपछि ओरालो लाग्यौं, र करिब ८ बजे फेरि भरतपुर फर्कियौं—तर फरक अनुभूतिसहित।

यी पहाडहरु सजिलैमा चढिएका होइनन्। चट्टान र भीरले घेरेका ठाउँमा सडक बनाउन सजिलो होइन, तर अहिले पनि जहाँसम्म सडक पुगेको छ, त्यो आफैंमा उल्लेखनीय छ। अझै पनि निर्माण भइरहेको छ, बजेटको अभावका बाबजुद पनि काम भइरहेको देख्दा आशा पलाएको अनुभव भयो।

चितवन जस्तो भूगोलमा, जहाँ समथर मैदान मात्र होइन, यस्ता रमाइला पहाडी गाउँहरू पनि छन्—त्यो आफैंमा एक विशेष गौरव हो। हामी चितवनबासीका लागि यस्ता ठाउँहरू केवल पर्यटनका गन्तव्य होइनन्, ती हाम्रो अस्तित्व, हाम्रो संस्कार र हाम्रो भविष्य पनि हुन्।

यो यात्रा केवल एक साँझको विश्राम मात्र थिएन, यो आत्मसाक्षात्कारको एउटा अवसर थियो। प्रकृतिसँग नजिक हुने, आफ्नै जिल्लाको गर्व महसुस गर्ने, र हाम्रा स्रोत–साधनलाई कदर गर्ने चेतना बोकेको यात्रा।

अब आवश्यकता छ—हामी सबैले आफ्नै भूगोललाई चिन्ने, बुझ्ने र माया गर्ने। विकास त समयसँगै आइहाल्छ, तर प्रकृति, मौलिकता र आपसी सम्बन्ध जोगाउनु हाम्रो जिम्मेवारी हो।

तपाईको प्रतिक्रिया