
नवलपुर — कालिका मेडिकल एन्ड टेक्निकल इन्स्टिच्युटका PCL नर्सिङ प्रथम वर्षका विद्यार्थीहरूले नवलपुरको गैंडाकोट नगरपालिका वडा नं ६, कुसुमनगर टोलमा घरदैलो सर्वेक्षण गरेर स्वास्थ्य, पोषण, सरसफाइ, रोगको अवस्था, सुत्केरी सेवा, खानेपानी र वातावरणीय स्वास्थ्यसम्बन्धी तथ्यांक सार्वजनिक गरेका छन्।
सर्वेक्षणका अनुसार, धेरै घरधुरीहरूले नियमित रूपमा स्वास्थ्य परीक्षण गराइरहेका छन् भने केहीले भने यो सेवा लिन सकेका छैनन्। गर्भवती महिलाहरूको अवस्था हेर्दा, अधिकांशले ANC सेवा लिएका छन्, तर अझै केहीले सेवा लिन बाँकी रहेको देखिएको छ। बालबालिकाहरूले खोप लगाउनुपर्ने सबै खोपहरू प्राप्त गरिसकेका छन् भने केही बालबालिकामा खोप छुटेको अवस्था पनि भेटिएको छ।
खानेपानीको विषयमा, धेरै घरहरूमा सुरक्षित र सफा खानेपानीको पहुँच छ, तर केही घरमा अझै सुरक्षित पानीको अभाव रहेको पाइयो। शौचालयको सुविधा पनि अधिकांश घरमा भए तापनि केही घरहरूमा शौचालय नहुँदा सरसफाइमा प्रभाव परेको देखियो। नियमित सरसफाइमा ध्यान दिने घरहरूको संख्या धेरै भए पनि केही घरहरूमा सरसफाइमा कम ध्यान दिइएको अवस्था पनि भेटियो।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले यी तथ्यांकका आधारमा समुदायमा देखिएका स्वास्थ्य समस्या र जोखिमहरूलाई चिन्हित गर्दै सुधारका लागि सुझावहरू पनि प्रस्तुत गरेका थिए।
इन्स्टिच्युटका प्रमुख ध्रुव प्रसाद काफ्लेले भने, “विद्यार्थीहरूको यो प्रयासले स्थानीय समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि भएको छ र वास्तविक अवस्था बुझ्न सहयोग पुगेको छ।” नर्सिङ प्रमुख सरला श्रेष्ठले पनि विद्यार्थीहरूले सिकाइसँगै व्यवहारिक सीप हासिल गरेको बताइन्, जसले उनीहरूलाई व्यावहारिक स्वास्थ्य सेवा प्रदान गर्न सक्षम बनाउनेछ।