×

गैँडाकोट – गैँडाकोटस्थित सरस्वती निकेतन आवासीय माध्यामिक विद्यालयले शैक्षिक सत्र २०८१ को जेठ महिनाबाट ‘बुक फ्री डे’ (पुस्तकविहीन दिन) कार्यक्रम सुरु गरेको छ । प्रत्येक हप्ता शुक्रबार लागू हुने यस कार्यक्रम अन्तर्गत नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरू झोला र किताव नल्याई विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुँदै आएका छन् ।

विद्यालयका प्राचार्य भरतबाबु कंडेलका अनुसार बालबालिकाको समग्र व्यक्तित्व विकासका लागि केवल किताबी ज्ञान पर्याप्त नहुने भएकाले व्यवहारिक र जीवनोपयोगी सीपहरू सिकाउने उद्देश्यले ‘बुक फ्री डे’ लागू गरिएको हो । “शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुनुहुन्न,” प्राचार्य कंडेलले भन्नुभयोे, “विद्यार्थीहरूलाई फिल्ड भिजिट, समूहमा काम गर्ने क्षमता, रचनात्मक सोच, नेतृत्व जस्ता पक्षमा पनि दक्ष बनाउनु आजको आवश्यकता हो । हामीले यही सोचका साथ प्रत्येक हप्ताको एक दिन पुस्तकविहीन बनाएर अतिरिक्त क्रियाकलापमा केन्द्रित गरेका हौं ।”

विद्यालयका सहायक प्राचार्य लक्ष्मण कंडेलका अनुसार करिब ५५० जना विद्यार्थीहरूले तहअनुसार विभाजन गरिएका विविध गतिविधिमा सहभागिता जनाउँदै आएका छन् । हरेक हप्ता फरक–फरक कार्यक्रम सञ्चालन गरिन्छ, जसमा विद्यार्थीहरूको सहभागिता उत्साहजनक रहेको कडेलले बताउनुभयो ।

अतिरिक्त कृयाकलाप विभाग प्रमुख पदम रानाले विद्यालयमा खेलकुद, सीपमूलक कार्यक्रम र नेतृत्व विकासका गतिविधिहरू नियमित रुपमा सञ्चालन हुँदै आएको बताउनुभयो। “हामीले बक्सिङ, तेक्वान्दो, करातेजस्ता खेलकुद कार्यक्रम मात्र होइन, स्काउट प्रशिक्षणमार्फत विद्यार्थीहरूलाई अनुशासन, सेवा भावना र आत्मनिर्भरता सिकाउँदै आएका छौं,” रानाले भने, “हाल कक्षा ५ देखि १० सम्मका ११० जना विद्यार्थी स्काउट कार्यक्रममा सक्रिय छन् ।”

२०५० सालमा स्थापना भएको सरस्वती निकेतन आवासीय माध्यामिक विद्यालय गैँडाकोट क्षेत्रका पुराना संस्थागत विद्यालयमध्ये अग्रपंक्तिमा रहेको छ । शैक्षिक उत्कृष्टतासँगै विद्यालयले पछिल्ला वर्षहरूमा व्यवहारिक र सीपमूलक शिक्षामा विशेष ध्यान दिँदै आएको छ । बुक फ्री डे कार्यक्रम र अतिरिक्त गतिविधिहरूको सफल कार्यान्वयनले विद्यार्थी, अभिभावक र शिक्षकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

विद्यालय प्रशासनले आगामी दिनमा थप सृजनात्मक तथा जीवनोपयोगी क्रियाकलाप थप गर्ने योजनासमेत अगाडि सारेको छ। प्राचार्य कंडेल भन्नुहुन्छ, “हामी विद्यार्थीलाई परीक्षाको तयारी मात्र होइन, जीवनको तयारी गराइरहेका छौं।”

तपाईको प्रतिक्रिया