×

चितवन – चितवनको राप्ती नगरपालिकाले आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोको कारण देखाउँदै आज (सोमबार)देखि दैनिक ज्यालादारीमा कार्यरत ७४ जना कर्मचारीलाई विदा दिएको छ ।हटाइने कर्मचारीहरूमा भण्डारा अस्पतालका तीन जना डाक्टरसहित दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मी, ल्याब टेक्निसियन, वडा कार्यालयका सहयोगी, चालक, मालीलगायत रहेका छन् ।

नगरपालिकाले सूचना जारी गर्दै जेठ २६ गते सोमबार अर्थात आजदेखि लागू हुने गरी सबै ज्यालादारी कर्मचारीलाई कार्यालय नआउन र हाजिरी नगराउन निर्देशन दिएको छ । नगरपालिकाका पशुपंछी विकास शाखाका प्रमुख शैलेन्द्र भण्डारीद्धारा जारी सूचनामा आन्तरिक आम्दानीको सुनिश्चितता नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न उठाएकोले बाध्य भएर कर्मचारी हटाउनुपरेको उल्लेख छ ।

ज्यालादारी कर्मचारी हटाउने निर्णय नगरपालिकाको १४औँ नगरसभाबाट गठित सहजीकरण समितिले गरेको हो । समितिको संयोजक नगरप्रमुख शमसेर लामा रहेका छन् भने उपप्रमुख देवेन्द्र लामा, वडा नं. २ का अध्यक्ष श्यामसुन्दर उप्रेती, वडा नं. ५ का सीताराम तामाङ, वडा नं. ७ की सुमिता डल्लाकोटी र वडा नं. १२ का अर्जुन प्रजा सदस्य रहेका छन् । समितिले जेठ १९ गते निर्णय गर्दै हटाउने प्रक्रिया अघि बढाएको हो ।
नगरपालिकाको सो निर्णयसँगै नगरका स्वास्थ्य संस्था, शाखा–उपशाखा, वडा कार्यालयहरू र कृषी तथा पशु सेवा केन्द्रको सेवा प्रभावित हुने देखिएको छ ।कर्मचारीहरुले भने अचानक हटाइएको निर्णयले ‘पेटमा लात हानेको’ अनुभूति भएको बताएका छन् । नयाँ आर्थिक वर्ष सुरु नहुँदै रोजगारी गुमाउनु परेको उनीहरुको गुनासो छ ।स्थानीय तहमा बजेट व्यवस्थापन र स्रोत सुनिश्चितताको चुनौतीबीच आएको यो निर्णयले आगामी दिनमा थप विवाद र आलोचना निम्त्याउने संकेत देखिएको छ ।

तपाईको प्रतिक्रिया