
गैँडाकोट – नवलपुरको गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणका लागि नगरभित्रका राजनैतिकदल, सञ्चारकर्मी तथा सरोकारवालाहरुसँग आइतबार सुझाव संकलन गरेको छ ।नगरवासीले आफ्नो उपस्थिति निती तथा कार्यक्रम मार्फत देख्न पाउन भनेर पालिकाले आइतबार राजनैतिक दल सहित अन्य सरोकारवालाहरुको सुझाव लिएको हो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नगर सभापति बद्री सापकोटाले जनअपेक्षा र स्रोतबीच सन्तुलन मिलाउन करको दायरा फराकिलो बनाउनु पर्ने भन्दै योजनाहरू प्राथमिकताका आधारमा तय गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले प्रशासनिक खर्च घटाउँदै बालश्रम र महिलामाथि हुने हिंसाविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन आवश्यक रहेको बताउनुभयो ।
नेकपा एमालेका नगर अध्यक्ष कृष्ण कंडेलले धार्मिक पर्यटन प्रवद्र्धनका लागि नगरपालिका गम्भीर बन्नुपर्ने र युवामा बढ्दो लागुऔषधको समस्यालाई नियन्त्रण गर्न समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो ।
नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रकाश अधिकारीले रोजगारी सिर्जना गर्न सक्ने कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिँदै राष्ट्रिय गौरवका आयोजना नगरमा हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले खेलकुद पूर्वाधार निर्माण, विशेष गरी व्यवस्थित खेलमैदानको आवश्यकता औंल्याउनुभयो ।
गैँडाकोट इङ्गलिस स्कुलका प्राचार्य हिरालाल अर्यालले फोहोरमैला व्यवस्थापनलाई वैज्ञानिक रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिँदै, विभिन्न सीप सिकेका व्यक्तिहरूलाई परीक्षण गरी प्रमाणपत्र (सर्टिफिकेट) दिने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
कांग्रेसका नगर सचिव गोविन्द घिमिरेले गैँडाकोटको दीर्घकालीन विकासका लागि ‘मेघा प्रोजेक्ट’ हरूप्रति नगरपालिका गम्भीर बन्नुपर्ने भन्दै, वडा नं. ३ र १८ मा होमस्टे व्यवसाय विस्तार गर्न बजेटमार्फत योजना ल्याउनुपर्ने माग गर्नुभयो ।
सञ्चार क्षेत्रबाट रेडियो संकेतका सुजन अधिकारीले नगरका राम्रा कामको प्रचारप्रसारमा सञ्चारकर्मीहरू निरन्तर लागिपरेको उल्लेख गर्दै, लोककल्याणकारी विज्ञापनको स्पष्ट नीति आवश्यक रहेको धारणा राख्नुभयो ।
सुझाव संकलनका क्रममा प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले नगरपालिकाले हालसम्म गरेका प्रमुख उपलब्धिहरू र देखिएका चुनौतीे समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सहकारी, खानेपानी, सडक लगायत क्षेत्रमा भएका सकारात्मक कामहरू प्रस्तुत गर्दै, बजेटको सीमितता, र फोहोर व्यवस्थापन लगायतका केहि विषयहरुलाई चुनौतीका रूपमा औंल्याउनुभयो ।
नगर उपप्रमुख शान्ति कोइरालाले पालिकाको निम्तो स्वीकार गरी सहभागी भएका सबैलाई धन्यवाद दिनुभयो । नगरप्रमुख मदनभक्त अधिकारीले सुझावहरूलाई आगामी नीति तथा कार्यक्रममा यथासम्भव समेटिने प्रतिबद्धता जनाउँदै, सीमित स्रोतसाधनका कारण सबै माग तुरुन्त पूरा गर्न कठिनाइ रहेको उल्लेख गर्नुभयो ।
नगरपालिकाले असार ६ गते आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६ करोड रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ ।सुझाव संकलन कार्यक्रमको सञ्चालन र सहजकिरण नगरपालिकाका प्रशासकीय अधिकृत लिलाधर शर्माले गर्नुभएको थियो ।