हेटौडा । प्रेस चौतारी नेपाल बागमती प्रदेशको आयोजनामा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि सम्बन्धी दुईदिने तालिम आज (शनिबार) देखि मकवानपुरको हेटौडामा सुरु भएको छ। तालिममा चितवन, मकवानपुर, नुवाकोट र रामेछाप जिल्लाका दुई दर्जन सञ्चारकर्मीहरूको सहभागिता रहेको छ। तालिम भोलि सम्पन्न हुने कार्यक्रम छ।
तालिमको उद्घाटन कार्यक्रम प्रेस चौतारी बागमती प्रदेशका अध्यक्ष तिलकराम रिमालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो भने प्रमुख प्रशिक्षकका रूपमा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा उपस्थित हुनुभयो।
प्रमुख अतिथि थपलियाले पत्रकारहरू मेहनती र अध्ययनशील हुनुपर्नेमा जोड दिँदै खोज पत्रकारिता आजको आवश्यकता भएको बताउनुभयो। उहाँले मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढिरहेको सन्दर्भमा सकारात्मक विषयहरू उठान गर्न सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो। नकारात्मकभन्दा पनि उपलब्धिहरूको प्रचारप्रसार गर्नु अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो।
प्रमुख प्रशिक्षक महासचिव लामाले प्रेस चौतारीमा आवद्ध सञ्चारकर्मीहरूले कर्मशील भएर पत्रकारितालाई अझ निखारपूर्ण बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले सञ्चारकर्मीहरूको जिम्मेवारी, आचारसंहिता र व्यावसायिक धारबारे प्रशिक्षण दिनुभयो।
त्यस्तै, सञ्चार रजिष्टार रेवती सापकोटाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग सहकार्य गर्दै रचनात्मक पत्रकारिता कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनुभयो। सूचना प्रविधि विशेषज्ञ बिबेकानन्द न्यौपानेले डिजिटल उपकरणहरूको प्रभावकारी प्रयोग, अनलाइन स्रोतको सदुपयोग, साइबर सुरक्षाको महत्त्व र डेटा व्यवस्थापनसम्बन्धी विषयमा विस्तृत प्रशिक्षण दिनुभयो।
आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको सहयोगमा सुरु भएको दुईदिने तालिमले सञ्चारकर्मीहरूलाई खोज पत्रकारिता, प्रविधिको उपयोग र जिम्मेवार लेखनमा थप दक्ष बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।



उज्यालो खबर




