
चितवन- रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल,(केमसान) चितवनको १२औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले अर्जुन रानाभाटको अध्यक्षतामा ६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।कार्यसमितिको उपाध्यक्षमा सुरज मरहठ्ठा, महासचिवमा नारायण अर्याल, कोषाध्यक्षमा दिनेश खनाल र सदस्यहरूमा मिलन पुरी तथा बसन्त पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको विधानअनुसार बाँकी दुई सदस्य पछि मनोनयन गरिने व्यवस्था रहेको छ ।
रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल चितवन शाखाका अध्यक्ष श्रीकृष्ण भण्डारीको अध्यक्षता एवंम् रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका केन्द्रीय अध्यक्ष भक्तबहादुर हमाल प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभाको उद्घाटन शत्रमा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी विशिष्ट अतिथि रहनुभएको थियो ।
साधारण सभामा निवर्तमान महासचिव मनोज ज्ञवालीले महासचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले विगत तीन वर्षको संघको गतिविधि, उपलब्धि, समस्या र समाधानतर्फको पहलबारे विस्तृत जानकारी दिनुभयो। त्यसैगरी, आर्थिक प्रतिवेदन निवर्तमान कोषाध्यक्ष सुरज मरहठ्ठाले प्रस्तुत गर्नुभएको थियो। उहाँले आय–व्ययको स्थिति स्पष्ट गर्दै संघको आर्थिक अवस्था सन्तोषजनक रहेको उल्लेख गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष अर्जुन रानाभाटले संघको नेतृत्व सम्हाल्ने अवसर प्राप्त भएपछि धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “व्यवसायीहरूको हित र हक अधिकारको संरक्षण हाम्रो प्राथमिकता हुनेछ । रसायन तथा मेडिकल आपूर्तिको व्यवसाय अत्यन्त संवेदनशील क्षेत्र हो, यसमा पारदर्शिता, सुरक्षा र नैतिक व्यापारिक अभ्यास आवश्यक छ । संघले आगामी दिनमा तालिम, अनुगमन, नीति निर्माणमा सहयोग तथा सरकारी समन्वयमा सक्रिय भूमिका खेल्नेछ।”
उहाँले थप भन्नुभयो, “व्यवसायीहरूलाई पेशागत सुरक्षा, नियमित अपडेट र समस्यामा सघाउने वातावरण बनाउन हामी प्रतिबद्ध रहनेछौं। सबै सदस्यहरूको साथ र सुझावको अपेक्षा राख्दै हामी यो जिम्मेवारी इमान्दारीपूर्वक निभाउनेछौं।”संघमा हाल ७४ जना व्यवसायी आवद्ध रहेको जानकारी नव निर्वाचित सदस्य बसन्त पौडेलले दिनुभयो । उहाँका अनुसार संघको पहुँच विस्तार हुँदै गएको छ ।
कार्यक्रमले संघको सुदृढीकरण, सदस्यता विस्तार, नीति निर्माणमा सहजीकरण र समन्वयात्मक भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गर्दै समापन गरिएको थियो । उपस्थित सदस्यहरूले अधिवेशनलाई सफल र सकारात्मक ठहर गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।