×

गैंडाकोट – गैंडाकोट नगरपालिकाले सामाजिक समावेशिता र शैक्षिक पहुँचलाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

शुक्रबार नगरपालिकाको परिसरमा आयोजित एक विशेष कार्यक्रममार्फत २२ वटा सामुदायिक विद्यालयका ६३ जना बालबालिकालाई कपी, कलम, विद्यालय पोशाक लगायतका सामग्री वितरण गरिएको हो । कार्यक्रमको उद्देश्य बालबालिकाको मनोबल अभिवृद्धि गर्दै शिक्षामा थप प्रोत्साहन दिनु रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मदनभक्त अधिकारीले शिक्षा सबैको अधिकार भएको उल्लेख गर्दै नगरपालिकाले कक्षा १ देखि ५ सम्म निःशुल्क शिक्षा सुनिश्चित गरिसकेको र अब कक्षा ८ सम्म पनि यस्तो व्यवस्था विस्तार गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । “हामी प्रत्येक बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न कटिबद्ध छौं,” उहाँले भन्नुभयो ।

त्यस्तै, उपप्रमुख शान्ति कोइरालाले अपाङ्गता भएका तथा विपन्न बालबालिकाको लागि नगरपालिका सदैव साथमा रहेको बताउनुभयो । उहाँले यस्ता बालबालिकालाई शिक्षामा सहजता ल्याउन नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाई, आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम, महिला तथा बालबालिका शाखा प्रमुख सीता कुमारी लामिछाने ,सहायक महिला विकास निरीक्षक नरमाया राना, राधा पौडेल लगायतको उपस्थिति रहको थियो ।
नगरपालिकाको यो पहलले शिक्षामा समान पहुँच र सामाजिक न्यायको उदाहरण प्रस्तुत गरेको छ ।

तपाईको प्रतिक्रिया