×

गैँडाकोट – विश्व वातावरण दिवस २०८२ को अवसरमा नवलपुरको गैँडाकोटस्थित सरस्वती निकेतन ईङ्लिस स्कुलले एक भव्य सचेतनामूलक र्‍यालीको आयोजना गरेको छ । विद्यालयको आयोजनामा भएको उक्त र्यालीमा कक्षा ४ देखि १० सम्मका ४०० भन्दा बढी विद्यार्थीहरू तथा दर्जनौं शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

र्‍याली सरस्वती निकेतन विद्यालयको प्राङ्गणबाट सुरु भई मिलनचोक, मौलाकालिका मार्ग,  शिलान्यास चोक पुगेर पुनः विद्यालयमै समापन भएको थियो ।विद्यार्थीहरू प्लेकार्डहरू बोकेर वातावरण संरक्षणसम्बन्धी नारा प्रस्तुत गर्दै अघि बढेका थिए ।

“हाम्रो पृथ्वी, हाम्रो जिम्मेवारी“, “हरियो वन, नेपालको धन“, “प्लास्टिक होइन, पुनः प्रयोग रोजौं“ जस्ता नाराले र्‍यालीको वातावरण थप उत्साहजनक बनाएको थियो ।विद्यालयका शिक्षकहरू पनि विद्यार्थीहरूसँगै कदम मिलाउँदै र्‍यालीमा सहभागी बनेका थिए । शिक्षकहरूको सक्रिय सहभागिताले विद्यार्थीहरूमा झनै हौसला र प्रेरणा थपेको देखिन्थ्यो ।

विद्यालयका प्राचार्य भरतबाबु कंडेलले र्‍यालीमार्फत विद्यार्थीहरूलाई वातावरणप्रतिको उत्तरदायित्वबोध गराउनु र स्थानीय बासिन्दामा पनि सचेतना फैलाउनु मुख्य उद्देश्य रहेको बताए । “हामीले पढाउने मात्र होइन, व्यवहारिक रूपमा पनि विद्यार्थीहरूलाई समाज र प्रकृतिप्रति उत्तरदायी बनाउने प्रयास गरिरहेका छौँ,“ उनले भने ।

सरस्वती निकेतन ईङ्लिस स्कुल गैँडाकोटको सबैभन्दा पुरानो र ख्यातिप्राप्त संस्थागत विद्यालय हो, जसले कक्षा १२ सम्मका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । विद्यालयले नियमित रूपमा सामाजिक, वातावरणीय र साङ्गीतिक कार्यक्रमहरू गर्दै विद्यार्थीको सर्वांगीण विकासमा जोड दिँदै आएको छ ।

विद्यालयको यसपटकको वातावरण दिवस कार्यक्रमले केवल शैक्षिक सीमाभन्दा बाहिर निस्केर समाज र प्रकृतिप्रति उत्तरदायी व्यवहार गर्ने संस्कार विद्यार्थीहरूमा विकास गर्न मद्दत पुर्‍याएको छ ।

तपाईको प्रतिक्रिया