×

चितवन-  ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको उपरदाङ्ग गढीमा नेपाली सेनाले ढुङ्गे धारा निर्माण गरी ईच्छाकामना गाउँपालिकालाई हस्तान्तरण गरेको छ। नेपाली सेनाको “जनतासँग नेपाली सेना” अभियान अन्तर्गत शिघ्र प्रभावी आयोजनाबाट निर्मित उक्त धारा बुधबार एक विशेष समारोहका बीच हस्तान्तरण गरिएको हो।

कार्यक्रममा नेपाली सेनाको मध्य पृतना हेटौडाका पृतनापति उपरथी हरेन्द्र पाठकले ढुङ्गे धाराको साँचो ईच्छाकामना गाउँपालिकाका अध्यक्ष दानवहादुर गुरुङलाई जिम्मेवारीसहित हस्तान्तरण गर्नुभयो।उपरथी पाठकले भन्नुभयो, “नेपाली सेनाले ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षणमा विशेष अभियान सञ्चालन गरिरहेको छ। उपरदाङ्ग गढीमा निर्माण गरिएको ढुङ्गे धाराले यहाँको मौलिकता झल्काएको छ।”

गाउँपालिका अध्यक्ष गुरुङले नेपाली सेनाको सक्रियता प्रशंसनीय रहेको भन्दै ऐतिहासिक थलोको संरक्षणमा राज्यका सबै निकायको ध्यान जानु आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले पनि धाराको उपयोगिता र महत्वबारे टिप्पणी गर्दै भन्नुभयो, “स्थानीय स्तरमै यस्ता संरचनाको निर्माणले पुरातात्विक सम्पदाको संरक्षण मात्र होइन, समुदायमा सैन्य संस्थाको सहभागिता र पहुँच पनि सशक्त बनाउँछ।”

५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको  ढुङ्गे धारा भरतपुरस्थित नेपाली सेनाको नयाँ सवुज गणले निर्माण गरेको हो।

तपाईको प्रतिक्रिया