
भरतपुर- “शिक्षा केवल किताबी ज्ञान होइन, व्यावहारिक जीवनका लागि अभ्यास हो” भन्ने मूल नारालाई आत्मसात् गर्दै नारायणी ई. पब्लिक स्कुल, भरतपुर–११ मा नमूना निर्वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ । विद्यालयले विगत १२ वर्षदेखि निरन्तरता दिँदै आएको यो अभ्यास अन्तर्गत यस वर्ष पनि आज विद्यालय छात्र प्रमुख, छात्रा प्रमुख तथा विभिन्न क्लबका अध्यक्ष र सदन क्याप्टेनको चयन गरियो ।
विद्यालयका सामाजिक विभाग प्रमुख तथा निर्वाचन समितिका संयोजक बृजलाल चौधरीका अनुसार यो कार्यक्रमले विद्यार्थीहरूमा लोकतान्त्रिक प्रक्रियाको समझ र व्यावहारिक ज्ञान बढाउने उद्देश्य राखेको हो । “मताधिकार के हो ? मतदान किन र कसरी गरिन्छ ? प्रतिनिधिहरू कसरी निर्वाचित हुन्छन् ?” भन्ने जस्ता मूलभूत लोकतान्त्रिक ज्ञान विद्यार्थीहरूले प्रत्यक्ष अभ्यासमार्फत सिक्न पाएका छन् ।
कक्षा ६ देखि ९ सम्मका ४६९ जना विद्यार्थी मतदाता रहेको यो नमूना निर्वाचनमा उत्साहजनक सहभागिता देखिएको थियो । छात्र प्रमुखका लागि ३ जना र छात्रा प्रमुखका लागि ४ जना बिच प्रतिस्पर्धा भएको निर्वाचनमा, विज्ञान तथा प्रविधि, गणित, वातावरण, पत्रकारिता, खेलकुद र रेडक्रस गरी ६ वटा क्लबका लागि समेत विद्यार्थीहरू बीच प्रतिस्पर्धा भएको थियो ।
मतदान प्रक्रियामा ४६० जना विद्यार्थीले सक्रिय सहभागिता जनाएका थिए । मतदान दिउँसो १२ बजे सुरु भई ३ बजेसम्म जारी रह्यो । निर्वाचन समितिका उपसंयोजक दिवाकर पौड्यालका अनुसार विद्यार्थीहरू लाइनमा बसेर व्यवस्थित तरिकाले मतदानमा सहभागी भएका थिए ।
निर्वाचनको अन्तिम परिणाम अनुसार, विद्यालय छात्र प्रमुखमा प्रज्वल तिमिल्सिना १७८ मतसहित विजयी हुनुभयो भने विद्यालय छात्रा प्रमुखमा साईन न्यौपाने १४१ मतसहित विजयी बन्नुभयो । यस्तै, विभिन्न क्लब अध्यक्षतामा आर्जवी न्यौपाने (विज्ञान तथा प्रविधि), सन्देश भट्टराई (गणित), विमिसा सापकोटा (वातावरण), अर्चना भट्टराई (पत्रकारिता), अविनव सुवेदी (खेलकुद) र विनय श्रेष्ठ (रेडक्रस) निर्वाचित हुनुभएको हो ।
विद्यालयका प्राचार्य वेदराज न्यौपानेले नमूना निर्वाचनको सफल आयोजनाप्रति सन्तोष व्यक्त गर्दै भन्नुभयो, “विद्यार्थीहरूले आजको अनुभवबाट मात्र मताधिकारको मूल्य बुझेका छैनन्, उनीहरूले आफ्ना अभिभावकहरूलाई समेत मतदानबारे सघाउन सक्नेछन् । यसले आगामी वास्तविक निर्वाचनमा बदर मतको संख्या घटाउने विश्वास लिएको छु ।” साथै, उनले अन्य विद्यालयले पनि यस्तो कार्यक्रम सञ्चालन गर्न सकेमा लोकतन्त्रको आधारभूत चेतना बालबालिकाबाटै विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
निर्वाचित सबै पदाधिकारीहरूलाई आगामी बुधबार विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहमार्फत् पुर्व अध्यक्षहरूबाट कार्यभार हस्तान्तरण गरिने निर्वाचन अधिकृत चौधरीले जानकारी दिनुभयो ।