गैँडाकोट – गैँडाकोट नगरपालिका–२ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य प्रवर्धनका लागि विशेष कार्यक्रम सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका आयुर्वेद शाखाको आयोजनामा सम्पन्न कार्यक्रम अन्तर्गत १८१ जना जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा आयुर्वेदिक औषधी वितरण गरिएको हो ।
आयुर्वेद औषधालय प्रमुख वरिष्ठ कविराज निरीक्षक विष्णु प्रसाद पौडेलले जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै नियमित जाँच तथा औषधी उपलब्ध गराउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार सहभागी सबै जेष्ठ नागरिकलाई व्यक्तिगत स्वास्थ्य परीक्षण गरी आवश्यक २३ प्रकारका आयुर्वेदिक औषधी निःशुल्क वितरण गरिएको थियो ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जेष्ठ नागरिकहरु समाजको ज्ञान, अनुभव र संस्कारको धरोहर भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरुले उनीहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गैँडाकोट नगरपालिकाले आगामी दिनमा समेत यस्ता स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जेष्ठ नागरिकहरूप्रति सम्मान प्रकट गर्दै आयोजित यो कार्यक्रमले स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै आयुर्वेदको महत्वप्रति जनचेतना फैलाउने विश्वास लिइएको छ । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आयुर्वेद शाखाले आभार प्रकट गरेको छ ।




उज्यालो खबर




