×

चितवन – चितवनको सौराहास्थित रत्ननगर नगरपालिका–७ मा डुङ्गा सफारीका क्रममा एक भारतीय पर्यटकको अचानक मृत्यु भएको छ। निधन हुनेमा भारतको महाराष्ट्र राज्यका ७५ वर्षीय सुदाकर रामदास कुलकढी रहेका छन्।

सुदाकर कुलकढी र उनकी पत्नी सुनन्दा सुदाकर कुलकढी रत्ननगर–७ मा रहेको अर्थ फलाइज होटलमा बास बसेका थिए।आज बिहान करिब ७:०० बजे उनीहरू डुङ्गा सफारीका लागि गएका थिए। सफारीका क्रममा सुदाकर कुलकढीले एक्कासि छाती दुखेको गुनासो गरेका थिए।

स्थिति गम्भीर देखिएपछि उनलाई तत्काल भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। तर, अस्पताल पुर्‍याएपछि उपचारको क्रममा आज बिहान करिब १०:५४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतकको शव हाल भरतपुर अस्पतालको शवगृहमा राखिएको छ र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

पर्यटकीय क्षेत्र सौराहामा यस प्रकारको दुःखद घटना भएपछि स्थानीय प्रशासन सतर्क बनेको छ। चितवनको सौराहा क्षेत्र विशेषगरी वन्यजन्तु अवलोकन, डुङ्गा सफारी, हात्ती सफारी जस्ता गतिविधिका लागि लोकप्रिय गन्तव्य हो, जहाँ हरेक वर्ष ठूलो संख्यामा आन्तरिक तथा विदेशी पर्यटकहरू आउने गर्दछन्।

तपाईको प्रतिक्रिया