गैँडाकोट – गैँडाकोट नगरपालिका वडा नं. ११ भेडाबारीमा रहेको गैँडाकोट नगर अस्पतालले चालु आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्म ५६ हजार ४ सय ९१ जनालाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरेको छ ।
अस्पताल प्रमुख पुष्पराज श्रेष्ठका अनुसार सेवा लिनेमा ३१ हजार १ सय ९० जना महिला र २५ हजार ३ सय १ जना पुरुष रहेका छन् । अस्पतालले सुरक्षित मातृत्व सेवा, परिवार नियोजन, प्रयोगशाला, बहिरंग (ओपीडी), अन्तरंग (आईपीडी) र खोपजस्ता सेवा नियमित रूपमा प्रदान गर्दै आएको छ । नगरपालिकाको वडा नम्बर १० र ११ का नागरिकहरूले अस्पतालको सेवा बढी लिएको तथ्याङ्कमा देखिएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले नगरवासीलाई गुणस्तरीय सेवा दिन अस्पताललाई थप व्यवस्थित गर्दै लगिएको बताउनुभयो । “स्वास्थ्य नागरिकको आधार हो भन्ने भावनाका साथ हामी नगर अस्पताललाई आधुनिक र जनमैत्री बनाउँदैछौं,“ उहाँले भन्नुभयो ।
त्यस्तै, गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले अस्पतालमा सेवा विस्तार र प्रणालीगत सुधारमा प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । “नगर अस्पतालको सेवा सहज, प्रभावकारी र सबैको पहुँचमा पु¥याउने हाम्रो प्राथमिकता हो। बजेट, जनशक्ति र पूर्वाधारका क्षेत्रमा निरन्तर लगानी भइरहेको छ,“उहाँले बताउनुभयो ।
नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा अस्पताल प्रशासनको सक्रियतामा नगर अस्पताल गुणस्तरीय स्वास्थ्य सेवा केन्द्रको रूपमा विस्तार हुँदै गएको छ ।हाल अस्पतालमा ४ जना एमबीबीएस डाक्टर, २ जना स्टाफ नर्स, ४ जना फर्मासिस्ट, २ जना रेडियोग्राफरसहित पारामेडिक्स, अन्य स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीहरू गरी ४२ जनाको जनशक्ति कार्यरत छन् ।



उज्यालो खबर




