गैँडाकोट- सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्मद्वारा आयोजित संयुक्त विपद् प्रतिकार्य नमूना अभ्यास आज गैँडाकोट नगरपालिका–५, कुसुमनगरस्थित नारायणी नदीमा सम्पन्न भएको छ । गैँडाकोट नगरपालिकाको सहकार्यमा सम्पन्न सो अभ्यासमा सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले विपद् व्यवस्थापनमा सुरक्षा निकायहरूको सक्रियता र समन्वय अत्यन्त महत्वपूर्ण रहेको बताउँदै यस्ता अभ्यासहरूले विपद् प्रतिकार्य क्षमतामा वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक प्रकोपहरू अपरिहार्य छन्, तर तयारी र समन्वयले क्षति न्यूनीकरण गर्न सकिन्छ।”
विशिष्ट अतिथि गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले नगरपालिकाले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको सहकार्यले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने बताउनुभयो । उहाँले थप्नुभयो, “नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वाधार विकास र जनचेतना अभिवृद्धिमा निरन्तर लागिपरेको छ ।”
कार्यक्रममा गैडाकोट नगरपालिकाका उपमेयर शान्ति कोइराला, सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, नेपाली सेना नं. २ वन तथा पर्यावरण सुरक्षा गण हात्तिखोरका सेनानी गोविन्द कुमार श्रेष्ठ, गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
अभ्यासको अध्यक्षता सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म हेडक्वाटरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरिक्षक विनोद कार्कीले गर्नुभएको थियो । अभ्यासमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले नारायणी नदीको बीचमा फसेका नागरिकहरूको सफल उद्धार गर्नुका साथै बेपत्ता भएका एक पुरुषको शव फेला पारेका थिए। नारायणी नदीमा बाढी आउँदा हरेक वर्ष जनधनको क्षति हुने गरेको सन्दर्भमा यस्ता अभ्यासहरूले विपद् प्रतिकार्य क्षमतामा वृद्धि गर्ने अपेक्षा गरिएको छ ।




















उज्यालो खबर











