गैंडाकोट – पूर्वी नवलपरासीस्थित प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिरमा भक्तजनको चाप पछिल्लो समय तीव्र रूपमा बढेको छ। यसको प्रमुख कारण बनेको छ—२०८० सालमा सुरु गरिएको मौलाकाली केबलकार । आधुनिक सुविधाले धार्मिकस्थलमा पुग्ने पहुँच सहज बनाएपछि मन्दिरमा आउने भक्तजनको संख्या करिब ३० प्रतिशतले वृद्धि भएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार, पैदल तथा सडकमार्ग भएर पनि मन्दिर पुग्न सकिन्छ, तर पछिल्लो दुई वर्षमा झन्डै ५ लाखभन्दा बढी भक्तजन केबलकारमार्फत मन्दिर आएका छन् । शनिबार तथा नयाँ वर्ष, बडादशैं, चैते दशैंजस्ता अवसरमा यहाँ भक्तजनको भीड अत्यधिक हुने गरेको छ ।
आम्दानी र रोजगारीमा उल्लेखनीय फाइदा
केबलकार सञ्चालनसँगै मन्दिरको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। केबलकार प्रयोगकर्ताको प्रतिटिकट ३ रुपैयाँ मन्दिरले पाउने गरेको छ । अध्यक्ष सापकोटाले बताए । त्यस्तै, गैंडाकोट नगरपालिकाको राजस्वसमेत बढेको छ—२०८० सालमा २१ लाख ९० हजार र २०८१मा २० लाख ११ हजार रुपैयाँ राजस्व नगरपालिकाले प्राप्त गरेको तथ्यांक छ ।
केबलकारको टिकट शुल्क नेपालीका लागि ६७५, सार्क देशका नागरिकका लागि १,००० रुपैयाँ र अन्य विदेशीका लागि १५ डलर तोकिएको छ । वृद्धवृद्धा, बालबालिका तथा स्थानीय बासिन्दाका लागि विशेष छुटको व्यवस्था गरिएको छ ।
स्थानीयको आम्दानी
मन्दिरको प्रवेशद्वार नजिकै र फेदी आसपासका क्षेत्रमा स्थानीय महिलाहरू फूलमाला, प्रसाद र अन्य पूजासामग्री बिक्री गर्दै आएका छन्। पहिले घरायसी काममा सीमित रहेका महिलाहरू अहिले धार्मिक पर्यटनसँगै स-साना व्यापारमार्फत आत्मनिर्भर बन्न थालेका छन्।
पहिले घरमै बस्ने गर्थ्यौं, अहिले फूलमाला बनाएर मन्दिरअगाडि बेच्ने गर्छौं, गैंडाकोट–१ की सीता पौडेलले भनिन्, पर्व र शनिवारमा राम्रो कमाइ हुन्छ।दशैं, तिहार, चैते दशैं, नयाँ वर्षजस्ता विशेष अवसरमा भक्तजनको भीड बढ्ने भएकाले फूलमाला व्यापारबाट दैनिक हजारौं रुपैयाँसम्म कमाइ हुने गरेको उनीहरूको भनाइ छ।
स्थानीय बासिन्दाले मन्दिरको विकाससँगै स्वरोजगारको अवसर बढेको महसुस गरिरहेका छन्। फूलमाला व्यापारले महिलाहरूलाई घरमै बसेर पनि आर्थिक सशक्तिकरणतर्फ अघि बढ्न प्रेरणा दिएको देखिन्छ।
विदेशी पर्यटकको आकर्षण
मौलाकाली केबलकार स्टेशन इन्चार्ज सुरज पौडेलका अनुसार ६५ जिल्लाका भक्तजन मात्र होइन, २४ देशका नागरिक पनि यहाँ दर्शनका लागि पुगेका छन् । विशेषगरी हिँडेर जान नसक्ने अपांगता भएका, वृद्धवृद्धाहरूका लागि केबलकार अत्यन्त उपयोगी भएको छ। हालसम्म १०० वर्षभन्दा माथिका नागरिकसमेत केबलकार चढी मन्दिर दर्शनमा आएका तथ्यांक छ ।
पर्यटनसँगै धार्मिक शिक्षा
मन्दिर परिसरमै सञ्चालित मौलाकालिका संस्कृत विद्यापीठ (गुरुकुल) मा हाल कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ५५ विद्यार्थी छन् । मासिक १२ लाख खर्च हुने गुरुकुलमा सरकारले वार्षिक पाँच लाख मात्र अनुदान दिने भएकाले बाँकी खर्च मन्दिरकै आम्दानीबाट व्यहोर्ने गरिएको छ ।
मन्दिर परिसरमा एकै पटक ८० जनासम्म बस्न सक्ने सुविधा छ। दैनिक ८५ देखि १०० जनासम्मले भोजन गर्ने गर्दा शनिबार ३ सयसम्म पुग्ने गरेको छ । पैसा नभएका व्यक्तिलाई निःशुल्क भोजनको व्यवस्था छ भने आर्थिक हैसियत हुनेहरूले स्वेच्छिक सहयोग गर्ने परिपाटी रहेको अध्यक्ष सापकोटाले जानकारी दिए ।
परम्परागत शैलीमा नयाँ स्वरूप
४५० वर्ष पुरानो इतिहास बोकेको मौलाकालिका मन्दिरको संरचना परम्परागत शैलीमा पुनर्निर्माणको तयारी भइरहेको छ। सिमेन्ट संरचना हटाइ तामाको छाना, काठका टुंडाल जडान गरी पुरातात्त्विक लुक दिन लागिएको हो ।
त्यस्तै, मन्दिरको फेँदीमा एक करोड रुपैयाँको लागतमा धर्मशाला, ढुंगा विछ्याउने, तथा परिक्रमा मार्गसम्म जाने पहुँच मार्ग निर्माणको काम पनि तीव्र गतिमा अघि बढेको छ । भविष्यमा केबलकारको टप स्टेशनबाट मन्दिरसम्म ३०० मिटर लामो पोडवे वा मोनोरेल जस्तो संरचना बनाउने योजना समेत अगाडि बढाइएको छ ।
समुद्र सतहबाट ५६१ मिटरको उचाइमा अवस्थित मौलाकालिका मन्दिरबाट देवघाटधाम र हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । धार्मिक आस्था, पर्यटकीय सम्भावना र पूर्वाधार विकासको संगम बनिरहेको मौलाकालिका अब गैंडाकोट नगरको मात्र होइन, समग्र देशकै गौरव बन्ने दिशामा अग्रसर भएको देखिन्छ ।



उज्यालो खबर




