×

गैँडाकोट । नवलपुरको गैँडाकोटमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा नौ जना यात्रु घाइते भएका छन् ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट नगरपालिका–९ थुम्सीमा दिउँसो करिब २ः४५ बजेको समयमा काठमाडौँबाट भैरहवातर्फ गइरहेको लु २ ख ६६७२ नम्बरको यात्रुबाहक बस र बुटवलबाट नारायणगढतर्फ आइरहेको लु २ ख ६९८५ नम्बरको माइक्रोबस ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा माइक्रोबसमा सवार ९ जना यात्रु घाइते भएका छन् भने बसमा रहेका यात्रुहरू भने सकुशल रहेको प्रहरीको भनाइ छ । घाइतेहरूको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।प्रहरीका अनुसार घाइते हुनेहरूमा माइक्रोबस चालक रुपन्देही देवदह नगरपालिका–२ का ४२ वर्षीय बिनोद सिंह ठाकुर रहेका छन्, ठाकुरको निधारमा चोट लागेको छ । सहचालक २९ वर्षीय गोपाल मगरको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

त्यसैगरी, चितवन भरतपुर–१६ की २१ वर्षीया अनिता नेपाली र ३६ वर्षीया बिण्णु नेपालीको टाउको र निधारमा मध्यम चोट लागेको छ । बुटवल उपमहानगर–५ की २२ वर्षीया बर्षात सुबेदी भित्री चोटसहित घाइते भएकी छन् भने उपमहानगर–१३ की ३० वर्षीया जमुना लामालाई हात र खुट्टामा सामान्य चोट लागेको छ ।

अन्य घाइतेहरूमा चितवन भरतपुर–१६ का ७ वर्षीय समर्थ नेपाली, भरतपुर–१९ का २५ वर्षीय अनुप गुरुङ (हात र खुट्टामा चोट), र भरतपुर–१६ का होमबहादुर रुचाल रहेका छन्, जसको दाहिने आँखामा चोट लागेको र स्थानीय सुमन मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया