×

गैंडाकोट- नवलपुरको गैंडाकोट नगरपालिकाले नगरको विशिष्ट पहिचान झल्किने प्रतीक चिन्ह (लोगो) निर्माणका लागि सिर्जनशील तथा इच्छुक व्यक्तिहरूलाई प्रस्ताव पेश गर्न सार्वजनिक आह्वान गरेको छ । नगर कार्यपालिकाको २०८२ साल वैशाख ३० गतेको निर्णयअनुसार यो सूचना पहिलो पटक आज प्रकाशित गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालद्वारा जारी सूचनामा लोगोले गैंडाकोट नगरपालिकाको ऐतिहासिक, सामाजिक, साँस्कृतिक, धार्मिक, पर्यटकीय तथा भौगोलिक विशेषता झल्काउनु पर्नेछ । लोगोमा नेपाल राष्ट्रको झण्डा र गैंडाकोट नगरपालिकाको नाम अनिवार्यरूपमा समावेश हुनुपर्नेछ ।

प्रस्तावित लोगो मौलिक हुनुपर्नेछ भने कुनै पनि जातीय विभेद वा सम्प्रदायिक संकेत नरहेको हुनुपर्छ । त्यसैगरी लोगोले राष्ट्रिय एकता, सार्वभौमिकता र भौगोलिक अखण्डताको सन्देश दिनुपर्ने पनि शर्तमा उल्लेख छ । साथसाथै, लोगोमा समावेश गरिएका संकेतहरूको संक्षिप्त व्याख्या (१५० शब्दभित्र) पेश गर्नु पर्नेछ ।

डिजाइन JPEG   वा JPG  फम्र्याटमा कम्तीमा ३०० DPI गुणस्तरसहित हार्डकपी वा ई–कपीमार्फत २०८२ जेठ १२ गते कार्यालय समयभित्र नगरपालिकाको इमेल info@gaindakotmun.gov.np मा पठाउन सकिनेछ । डिजाइन पेश गर्दा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नु अनिवार्य गरिएको छ ।

सबै प्रस्तावहरूमध्ये उत्कृष्ट लोगो चयन गरिएका डिजाइनकर्तालाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिने सूचनामा उल्लेख छ । नगरपालिकाले आवश्यक परेमा लोगोमा सुझाव दिइ परिमार्जन गराउन सक्ने अधिकार सुरक्षित राखेको छ ।

गैंडाकोट नगरपालिकाले यो अवसरमार्फत नगरको मौलिकता झल्किने र दीर्घकालीन दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने लोगो निर्माणका लागि सबै सिर्जनशील व्यक्तिहरूलाई सहभागिता जनाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया