
गैंडाकोट- गैंडाकोटमा जारी सातौँ उपमेयर कप छात्रा फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान सम्पन्न दुई खेलमा विजय सामुदायिक शिक्षा सदन र बालज्योति माध्यमिक विद्यालय विजयी भएका छन् ।
पहिलो खेलमा विजय सामुदायिक शिक्षा सदनले गैंडाकोट नमुना इङ्ग्लिस बोर्डिङ स्कुललाई एकतर्फी रूपमा ५–० गोलले पराजित ग¥यो । बलियो रणनीति र उत्कृष्ट समन्वयसहित खेलेको विजय सामुदायिकले विपक्षीलाई कुनै पनि अवसर दिन सकेन ।
त्यस्तै दोस्रो खेलमा जनक नमुना माध्यमिक विद्यालयलाई ४–२ को अन्तरले हराउँदै बालज्योति माध्यमिक विद्यालय विजयी भयो । प्रतिस्पर्धात्मक देखिएको खेलमा बालज्योतिले अन्तिम समयमा थप आक्रामक खेल प्रस्तुत गर्दै जित आफ्नो पक्षमा पारेको हो ।
दिउँसो हुने खेलहरूमा थप उत्साह
प्रतियोगिता संयोजक दुर्गा घिमिरेका अनुसार, आज दिउँसो ४ बजे तेस्रो खेल सरस्वती निकेतन इङ्ग्लिस बोर्डिङ स्कुल र स्मल हर्ट एकेडेमीबीच हुनेछ । त्यसपछि चौथो खेलमा रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय र अक्सफोर्ड सेकेन्डरी स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।संयोजक घिमिरेले प्रतियोगिता दिनप्रतिदिन रोमाञ्चक बन्दै गएको बताउँदै बाँकी खेलहरूमा झनै चुरो प्रतिस्पर्धा हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा प्रथम हुने समूहलाई ५१ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्धितीय हुने समूहलाई ३५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो ।
त्यसैगरी सान्त्वना स्थान हाँसिल गर्ने २ समूहलाई नगद १७ हजार रुपैँया प्रदान गरिने छ । त्यसबाहेक बेष्ट गोलकिपर, बेष्ट मिडफिल्डर,बेष्ट डिफेन्स,बेष्ट प्लेयर, बेष्ट स्ट्राइकर, सर्वाधिक गोलकर्ता र प्लेयर अफ दि म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा सहभागि हुने सबै खेलाडीहरुको १ लाख बराबरको दुर्घटना विमा समेत गरिएको छ ।