
गैँडाकोट – पूर्वी नवलपरासीको गैँडाकोटमा अवस्थित गैँडाकोट ईङ्लिस स्कुलले विद्यालयमा कार्यरत सबै शिक्षक तथा कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ । विद्यालयका शिक्षक, सवारीचालक, कार्यालय सहयोगी र सरसफाइकर्मी गरि झण्डै १६० जना कर्मचारीहरुलाई सामाजिक सुरक्षाकोषमा आवद्ध गराइएको हो ।
स्कुलका प्राचार्य हिरालाल अर्यालका अनुसार शैक्षिक सत्र २०८२/८३ देखि स्कुलले सामाजिक सुरक्षा कोषमा शिक्षक कर्मचारीहरुलाई आवद्ध गराइएको हो । बैशाख महिनादेखि विद्यालयले सामाजिक सुरक्षा कोषको कार्यक्रम सुरु गरेको हो ।विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको मनोवल उच्च राख्न, स्थायीत्वको प्रत्याभुती गराउन तथा संस्थाप्रति उत्तरदायी बनाउन स्कुलले बर्षेनी ठुलो रकम खर्चेर भएपनि सामाजिक सुरक्षा कोषको कार्यक्रम अघि सारेको अर्यालले बताउनुभयो ।
गैँडाकोट ईङ्लिस स्कुलका जनसम्पर्क तथा सञ्चार अधिकृत श्रीहरि चालिसेले शैक्षिक गुणस्तरवृद्धि गर्दै शिक्षक तथा कर्मचारीहरुको सामाजिक, आर्थिक र पारिवारिक जिवनलाई थप सुरक्षित गराउने उदेश्यले यसै शैक्षिकसत्रदेखि विद्यालयका १६० जना शिक्षक तथा कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको बताउनुभयो ।
गैँडाकोट ईङ्लिस स्कुलको व्यवस्थापनमा यसै शैक्षिकसत्रदेखि सञ्चालनमा आएको ज्ञानकुञ्ज इङ्लिस स्कुलका शिक्षक तथा कर्मचारीहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको चालिसेले बताउनुभयो ।सामाजिक सुरक्षा कोषमा आवद्ध भएका दुवै स्कुलका शिक्षक तथा कर्मचारीहरुको हरेक महिना उनिहरुको तलवको ११ प्रतिशत र विद्यालयले २० प्रतिशत थपेर कुल ३१ प्रतिशत रकम शिक्षक कर्मचारीको खातामा जम्मा हुनेछ ।
स्कुलका शिक्षक तथा कर्मचारीहरु ६० वर्ष पुगेपछि अवकाश हुँदा वा उनिहरुको रोजगारी अन्त्य भएको अवस्थामा यसबाट रकम झिक्न मिल्छ। यसअघि यस्तो रकम झिक्न ६० वर्ष कुर्नैपर्ने व्यवस्था रहेकामा संशोधन गरिएको हो।यस बीचमै योगदानकर्ताको मृत्यु भएको अवस्थामा जम्मा भएको रकम र सो रकममा प्राप्त प्रतिफल समेत जोडेर हुन आउने रकम निजको हकवालाले एकमुस्ट रूपमा पाउनेछ।
योगदान रकम जम्मा गर्न थालेको तीन वर्ष पूरा भएपछि बीचमा रकम चाहिएको खण्डमा सापटी पनि पाइन्छ।अवकाश योजना र निवृत्तिभरणअन्तर्गत जम्मा भएको कुल २८.३ प्रतिशत रकमको ८० प्रतिशतसम्म सापटी रकम पाइने व्यवस्था छ ।