चितवन – नेपालको पर्यटन क्षेत्रमा हस्पिटालिटीका लागि प्रतिष्ठित ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्सले गैँडाकोटका बोधराज लम्साललाई मुख्य सञ्चालन अधिकृत (सिओओ) को जिम्मेवारी सुम्पिएको छ । लम्साल यसअघि ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्समा समूह महाप्रबन्धकको रूपमा कार्यरत थिए ।
ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्सले काठमाडौँ, पोखरा, सौराहा र भैरहवामा चार होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ । ल्यान्डमार्कले नेपालको आतिथ्य क्षेत्रमा आफ्नो उपस्थितिलाई अझै बलियो बनाउने तयारी गरेको छ ।
ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सिएन पाण्डेले लम्सालको कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गर्दै भने, “बोधराजको व्यावसायिक प्रतिबद्धता र अन्तर्राष्ट्रिय अनुभवले हाम्रो सेवा स्तरमा नयाँ ऊर्जा थप्नेछ । उनको नेतृत्वमा समूहले अतिथिलाई सादर स्वागत र अविस्मरणीय अनुभव दिन अझ प्रतिबद्ध हुनेछ ।”
तनहुँको किहुँमा जन्मिएका लम्साल हाल सपरिवार गैँडाकोट नगरपालिका–१ मा बसोबास गर्छन् । एसएलसीपछि उच्चशिक्षाको यात्रा सूचना प्रविधिको क्षेत्रमा अघि बढाएका लम्साललाई समयले हस्पिटालिटीको क्षेत्रमा स्थापित गरिदिएको छ ।

लम्सालले भारतमा चार र पाँच–तारे होटल ब्रान्डमा जनरल म्यानेजर र क्लस्टर जनरल म्यानेजरको रूपमा एक दशकसम्म काम गरेका थिए । प्रतिष्ठित होटलहरूमा उनको नेतृत्व र अतिथि सन्तुष्टिका लागि गरिएको योगदानले उनलाई आतिथ्य क्षेत्रमा विशेष पहिचान दिलाएको छ । लम्सालले भारतको बैङ्गलोर, उत्तराखण्ड, जम्मु, काश्मिर र राजस्थानमा चारतारे र पाँचतारे होटलहरुमा प्रबन्धकदेखि महाप्रबन्धकसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।

ल्यान्डमार्कको सिओओ पदमा पदोन्नति पाएका लम्साल उत्साहित हुँदै भन्छन्, “मेरो लक्ष्य उत्कृष्ट सेवा मानकलाई निरन्तर अगाडि बढाउँदै टिमलाई सँगै लिएर नेपालको आतिथ्य उद्योगलाई विश्वस्तरमा पुर्याउनु रहेको छ । हामी नयाँ होटेलहरु थप्ने सम्भावनालाई पूर्णरूपमा उपयोग गर्दै अतिथिलाई सम्झनलायक अनुभव दिलाउने छौँ ।”
उद्योगका प्रतिष्ठित व्यक्तित्व र कर्मचारीबीच लोकप्रिय लम्सालको नयाँ जिम्मेवारीले ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्सलाई आगामी दिनमा नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ । ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्सले हाल काठमाडौँ, पोखरा, भैरहवा र सौराहामा होटल सञ्चालन गरिरहेको छ ।

ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्स अन्तर्गतका होटलमा निस्शुल्क पार्किङ र वाइफाइ, इलेक्ट्रिक भेइकल चार्जिङ स्टेसन, वातानुकूलित (एसी) कोठा, रेष्टुरेन्ट, ककटेल बार, बैठक र सम्मेलन कक्ष, एयरपोर्ट पिकअप एण्ड ड्रप, फ्रन्ट डेस्क र रुम सर्भिसलगायत सुविधा उपलब्ध छन् ।



उज्यालो खबर




