×

 

काठमाडौं –थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ। भेट नेपाली समयअनुसार शुक्रबार मध्याह्न ४ बजे हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास ९बिमस्टेक० को छैटौं सम्मेलनका अवसरमा ओली र मोदीबीच ‘साइडलाइन वार्ता’ हुने निश्चित भएकोे हो। ती अधिकारीले भने, ‘डेढदेखि तीन घण्टाको समय भारतीय प्रधानमन्त्रीको समय खाली छ। त्यही समयमा नेपालबाट परराष्ट्र मन्त्रीजीले समय मिलाउनुभएको छ। लामो भेट र धेरै विषयमा छलफल नहुन सक्छ। भेट भने तय भइसक्यो।’

लामो समयदेखि परराष्ट्र मन्त्री डा। आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग ओली र मोदीबीच भेटवार्ताका लागि विशेष पहल गरेकी थिइन्। परराष्ट्रमन्त्री राणाकै पहलमा दुई देशका प्रधानमन्त्रीबीच शुक्रबार भेट हुने भएको हो।

भारतीय प्रधानमन्त्री थाइल्यान्डबाटै श्रीलंका भ्रमणमा जाँदै छन्। भारतीय समाचार संस्था एएनआईका अनुसार ‘बिमस्टेक’ मा सहभागी विभिन्न देशका नेताहरूसँग प्रधानमन्त्री मोदीको साइडलाइन भेटवार्ता हुने भनिएको छ। त्यही सन्दर्भमा प्रधानमन्त्री ओलीसँग पनि साइडलाइन भेटवार्ता हुन सक्नेछ भनेर उल्लेख गरिएको हो। ती अधिकारीले भने, ‘उहाँहरूको (ओली र मोदी) भेटवार्ताका लागि परराष्ट्रमन्त्रीले भारतीय समकक्षी एस जयशंकरसँग विशेष पहल गर्नुभएको थियो। दुई पक्षबीच भएको छलफलले भेट हुने भएको हो।

भेटको समय छोटो भए तापनि नेपाल र भारत सम्बन्धको सुदृढीकरण र आपसी हितका विषयमा छलफल हुने भनिएको छ। एजेन्डाका विषयमा अहिल्यै सबै कुरा निश्चित भएको छैन।’ ‘सरकारको निर्णयबमोजिम परराष्ट्रमन्त्रीज्यूले भारतीय समकक्षीमार्फत प्रधानमन्त्री मोदीलाई सगरमाथा संवाद कार्यक्रमको प्रमुख अतिथिको निमन्त्रणा दिनुभएको छ। भारतीय पक्षले अहिलेसम्म उहाँ ९मोदी० आउने नआउने विषयमा कन्फर्मेसन भने दिएको छैन। तर, आउनुहुन्छ भन्ने संकेत मिलेको छ’, ती अधिकारीले भने।

नेपाल सरकारले आगामी जेठ २, ३ र ४ गते काठमाडौंमा ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गर्दै छ। सरकारले उक्त कार्यक्रमको प्रमुख अतिथिको निमन्त्रणा पनि भारतीय प्रधानमन्त्री मोदीलाई दिएको छ। परराष्ट्रमन्त्री राणा राइसिना डायलगमा सहभागी हुन गत चैत पहिलो साता नयाँ दिल्ली गएका बेला विदेशमन्त्री एस जयशंकरमार्फत प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथिको निमन्त्रणा दिएर आएकी हुन्। परराष्ट्र मन्त्रालयका अनुसार सरकारले प्रमुख अतिथिको रूपमा मोदीलाई बोलाए पनि उनी आउने नआउने निश्चित भएको छैन।

मन्त्रालयका अनुसार ‘सरकारको निर्णयबमोजिम परराष्ट्रमन्त्रीज्यूले भारतीय समकक्षीमार्फत प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथिको निमन्त्रणा दिनुभएको छ। भारतीय पक्षले अहिलेसम्म उहाँ ९मोदी० आउने नआउने विषयमा कन्फर्मेसन दिएको छैन। उहाँको समयको मौका पारेर भेट्ने समय मिलाइएको छ।’

प्रधानमन्त्री ओलीले त्यस विषयमा पनि बैंककमै भेट भएको अवसरमा भारतीय समकक्षीसँग छलफल गर्ने बताइएको छ। प्रधानमन्त्री ओली आफैंले सगरमाथा संवादका लागि समकक्षी मोदीलाई आग्रह पनि गर्ने भएका छन्।

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच यसअघि गत असोज ६ गते न्युयोर्कमा साइडलाइन भेटवार्ता भएको थियो। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिका गएका बेला भेट भएको थियो। त्यतिबेला पनि परराष्ट्रमन्त्री राणाको विशेष पहलमै ओली र मोदीबीच न्युयोर्कमा भेटवार्ता हुन सम्भव भएको थियो।

त्यस्तै, बिमस्टेक सम्मेलनका दौरानमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुससँग पनि शुक्रबार साइडलाइन बैठक गर्दैछन् ।

तपाईको प्रतिक्रिया