हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोबर गाउँपालिका–३स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ ।काभ्रे घर भई सिस्नेरी मामाघर आएका दुई बालक र सिस्नेरी डोडारेका एक बालकको सिस्नेरी बजार पछाडि खोलामा पौडी खेल्ने क्रममा आज अपराह्न करिब साढे ४ बजे डुबेर मृत्यु भएको घटनास्थलबाट इलाका प्रहरी कार्यालय भीमफेदी प्रमुख प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन् ।
इन्द्रसरोबर–३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका छोरा १४ वर्षीय सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको डुबेर मृत्यु भएको ढकालले जानकारी दिएकी छन् । घोरासैनी दाजुभाई हुन भने आचार्य मामाका छोरा हुन् ।
उनीहरु सिस्नेरी खोलाको ढुंगाको ओढारमा जमेको पानीमा घरबाट पौडी खेल्न भनेर गएको प्रहरी निरीक्षक ढकालले बताइन् ।गत असोजमा कुलेखानी जलाशयको ड्यामका ढोका खोलेर पानी छोड्दा सिस्नेरी खोलामा आएको बाढीले ढुंगाको ओढारमा दह बनेको थियो ।मृतक बालकको शव पोस्टमार्टम गर्न काठमाडौंस्थित अस्पताल पठाइएको ढकालले जानकारी दिइन् ।



उज्यालो खबर

