×

 

 

चितवन –सुदृढ गणतन्त्र र संविधानको रक्षाका लागि नेकपा एमाले चितवनले जिल्लामा जागरण सभा गरेको छ ।‘प्रतिगामी चलखेललाई परास्त गरौं । लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौं’ भन्ने मुल नाराका साथ भरतपुरको गेष्ट हाउस चौरबाट र्याली सुरु गरी अस्पताल रोड हुँदै चौबीसकोठीमा पुगेर जागरण सभा गरिएको थियो ।

र्यालीमा गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, हिँसा, हत्या र लुटपाट मुर्दावाद, जन्मसिद्ध श्रेष्ठता अस्वीकार गरौं, नेकपा ९एमाले० जिन्दावाद, दाश र रैती बन्न मञ्जुर छैन, हत्यारालाई कारबाही गर, शान्ति सुव्यवस्था कायम गर, सामाजिक अराजकता मुर्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद लगायतका नारा लगाइएको थियो ।

सभामा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले राजा आए भने देशमा के हुन्छ भन्ने कुरा काठमाडौंको तिनकुनेमा राजावादीले गरेको हर्कतबाट प्रष्ट भइसकेको बताए । उनले भने, ‘निजी घरमा आगजनी गर्दा रहेछन्, पत्रकारलाई जलाउँदा रहेछन्, सञ्चारमाध्यममा तोडफोड गर्दा रहेछन्, राजनीतिक दलका कार्यालयमा आगजनी र तोफोड गर्दा रहेछन्, राजतन्त्रको चरित्र के हो भनेर उनीहरुले देखाइसकेका छन् ।’ अब यस्तो राजतन्त्र पुनः फर्काउँछु भन्नेहरु पागलहरुको जमात हो भनेर सबैले बुझ्नुपर्ने उनको भनाइ छ ।

एमाले केन्द्रीय सदस्य एवम् बागमती प्रदेश एमाले संसदीय दलका नेता जेएन थपलियाले नेपाली जनताहरुले अब निरंकुशता नचाहने बताए । उनले जब जब नेकपा एमालेले देशमा नेतृत्व गरी विकासको लहर ल्याउन खोज्छ तब तब देशमा यो वा त्यो बाहनामा विकासको लहरलाई रोक्न असन्तुष्टि पैदा गराउने तत्वहरु सक्रिय हुने गरेको बताए । अहिले राजावादीहरुले यसो गरिरहेको उनको भनाइ छ ।

एमाले चितवनका अध्यक्ष कमलराज पाठकले जनताको ठूलो बलिदानीपूर्ण आन्दोलनबाट यो व्यवस्था ल्याइएको बताउँदै यसलाई कसैले त्यति सहजै फर्काउने सपना नदेख्न चेतावनी दिए ।

तपाईको प्रतिक्रिया