×

चितवन-  स्वास्थ्यलाई प्राथमिकता दिँदै मौलाकालिका अस्पताल प्रा.लि. चितवनले जिल्लाभरका ट्राफिक प्रहरीका लागि विशेष निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम बिहीबार र शुक्रबार सम्पन्न गरेको छ । चितवन जिल्लामा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरीहरूको स्वास्थ्य अवस्थाको मूल्यांकन गर्दै रोगहरूको प्रारम्भिक पहिचान तथा रोकथामका लागि यो कार्यक्रम आयोजना गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको समन्वयमा कार्यक्रम भएको हो ।

कार्यक्रममा ट्राफिक प्रहरीको विशेषज्ञ डाक्टरहरूले व्यक्तिगत स्वास्थ्य अवस्थाका बारेमा विस्तृत परामर्श दिनु भएको थियो भने मुटुको जाँच, मुटुसम्बन्धी समस्याको पहिचान गर्न विभिन्न परीक्षण गरिएको थियो । यसैगरी रगत परीक्षण गरी विभिन्न गरी रगतमा हुने विभिन्न तत्वहरुको मापदन गरिनेका साथै मूत्र प्रणालीको अवस्था, मृर्गौला परीक्षण समेत गरिएको अस्पतालले जनाएको छ ।

जाँचका क्रममा अधिकांश ट्राफिक प्रहरीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पाईएको अस्पतालका निर्देशक डा.रमेश घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “केही प्रहरीमा कलेजोमा बोसो जमेको, मिर्गौलामा पत्थरीको समस्या देखापरेको छ ।” थकान, उच्च रक्तचाप र पाचन सम्बन्धी केही समस्या पहिचान गरिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा प्रवाह गर्दै आएको मौलाकालिका अस्पतालले यस किसिमका सामाजिक क्रियाकलापहरूलाई विशेष प्राथमिकता दिँदै आएको उहाँको भनाई छ । डा. घिमिरेले भन्नुभयो “समुदायको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विभिन्न सामाजिक स्वास्थ्य शिविर, निःशुल्क परीक्षण कार्यक्रम तथा जनचेतनामूलक गतिविधिहरू निरन्तर गर्दै आईरहेका छौं ।

स्वास्थ्य क्षेत्रको अग्रणी संस्थाका रूपमा मौलाकालिका अस्पतालले समाजप्रति आफ्नो दायित्वलाई सधैं जिम्मेवारीपूर्वक निर्वाह गर्दै आएको बताउँदै उहाँले भविष्यमा पनि यस्ता निःशुल्क शिविरहरूको आयोजना गरी सर्वसाधारण र सेवाप्रदायक निकायहरूको स्वास्थ्य सुरक्षामा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भरतपुरको एयरपोर्ट चोक नजिक रहेको अस्पताल हाल मालपोत चोक नजिकै वाईपास रोडमा रहेको छ । अस्पतालले समुदायलाई आफ्नो स्वास्थ्यप्रति सजग रहन र नियमित जाँच गर्न प्रेरित गर्दै स्वास्थ्य सचेतनामा विशेष जोड दिएको निर्देशक घिमिरे बताउनुहुन्छ । यस प्रकारका निःशुल्क स्वास्थ्य शिविरहरूले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ । अस्पतालले नयाँ भवनमा सरेको अवसरमा विभिन्न सेवामा छुट दिंदै आएको छ ।

तपाईको प्रतिक्रिया