×

नविन नेपाल 

गैँडाकोट – पूर्वी नवलरासीको गैँडाकोट नगरपालिकाले २ दिनमै १२० वटा व्यवसायिक फर्महरुमा बजार अनुगमन गरेको छ । सोमबार र मंगलबार २ दिनको अवधिमा १२० वटा व्यवसायिक पर्महरुमा अनुगमन गरिएको हो ।गैँडाकोट नगरपालिकाका विभिन्न वडाहरुमा सोमबारदेखि सुरु गरिएको बजार अनुगमन बुधबार पनि सञ्चालन हुने गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो ।

सोमबार ३५ र मंगलबार ८५ वटा व्यवसायिक फर्महरुमा गरिएको बजार अनुगमनबाट थुप्रै म्याद गुज्रिएका सामानहरु बरामद गरि नष्ट गरिएको गैँडाकोट नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले जानकारी दिनुभयो ।

पसलमा म्याद नाघेका सामाग्री भेटिनुका साथै दर्ता प्रमाण पत्र, खरिद तथा बिक्री बिल समेत उपलब्ध हुन नसके उक्त पसललाई कारवाही गरिने उहाँले बताउनुभयो । अहिलेसम्म व्यवसाय दर्ता नगरि पसल सञ्चालन गरेको धेरै पाइएको हुँदा तत्कालका लागि व्यवसाय दर्ता गर्न, नविकरण गर्न सुझाब दिइएको राजश्व शाखाका प्रमुख लक्ष्मीधर पौडेलले बताउनुभयो ।

अनुगमनमा खाद्य तथा गुण नियन्त्रण कार्यालयका ज्योति आचार्य, जिल्ला प्रशासन कार्यालय नवलपुरका राजेन्द्रप्रसाद शर्मा, उद्योग बाणिज्य संघ गैँडाकोटका प्रतिनिधि, गैँडाकोट नगरपालिका पशु सेवा शाखाका डा. प्रमोद कुमार पौडेल, लगायत रहनुभएको थियो । हालै मात्र नेपाल नगरपालिका संघबाट उत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित भएको गैँडाकोट नगरपालिकाले पछिल्लो समयमा नगरवासीहरुको मन जित्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया