×

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाइमा थप पहलका लागि इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग संवाद गरेका छन् ।प्रधानमन्त्री ओलीले बुधबार साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत रहेका बेला जोशी विपिन हमासको नियन्त्रणमा परेको जानकारी गराउँदै सकुशल र शीघ्र रिहाइमा भूूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जवाफमा राष्ट्रपति अब्देलले उक्त विषयमा आफ्नो प्रयास जारी रहने अवगत गराएका थिए । ७ अक्टोबर २०२३ मा पश्चिमी इजरायलमाथि आक्रमण गरेका हमास लडाकुले विपिनसहित इजरायली र अन्य मुलुकका दुई सय ५१ जनालाई बन्धक बनाएका थिए ।

इजरायल–हमासबीच युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा हमासले ३३ बन्दी रिहाइ गरिसकेको छ । हाल दोस्रो चरणको बन्दी आदानप्रदानको प्रक्रियामा दुवै पक्ष जुटेका छन् । यस्तोमा विपिनलाई दोस्रो चरणको बन्दी आदानप्रदानको सूचीमा समावेश गराउन पहलका लागि प्रधानमन्त्रीले इजिप्टका राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

टेलिफोन संवादको क्रममा प्रधानमन्त्री ओलीले इजरायल र हमासबीचको युद्धविराम सम्झौताको नेपालले स्वागत गरिसकेको र सो क्रममा अरब गणतन्त्र इजिप्टले खेलेको भूमिकाको महत्वपूर्ण भएको उल्लेख गरेको सचिवालयको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा सदैव रहेको स्पष्ट गर्दै यस मानवीय प्रकृतिको कार्यमा भूमिका निर्वाहका लागि कतार र संयुक्त राज्य अमेरिका सरकारलाई पनि आभार व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया