चितवन- चितवनको इच्छाकामना आधारभूत अस्पतालले स्वास्थ्य बीमा मार्फत् सेवा दिने भएको छ । अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच यस सम्बन्धी सम्झौता भएको हो ।बोर्डको कार्यालय काठमाण्डौंमामा दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौता अनुसार आगामी वैशाख १ गतेदेखि स्वास्थ्य बीमा सेवा लागू हुनेछ ।
सम्झौतामा बोर्डका तर्फबाट नि कार्यकारी निर्देशक डा. सरोज शर्मा र अस्पतालको तर्फबाट अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. संगम न्यौपाने हस्ताक्षर गर्नुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत र बोर्डका शाखा अधिकृत रन्जुकुमारी रेग्मीको रोहवरमा हस्ताक्षर भएको हो ।
बोर्ड अनुसूचि ८ को नियम १८ को उपनियम २ अनुसार सम्झौता भएको हो । सम्झौतामा भनिएको छ “स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ को अधीनमा रही सेवा उपलब्ध गराउन दुवै पक्ष सहमत भएकोले संलग्न सेवा सुविधा सूची अन्तर्गतको सेवा प्रदान गर्न यो सम्झौता गरिएको छ ।”
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले यो सम्झौतासँग गाउँपालिकावासीलाई स्वास्थ्य सेवा सहज बन्दै जाने बताउनुभयो । उहाँका अनुसार गाउँपालिका आफैले पनि पाँच सय बढी विपन्नको स्वास्थ्य बीमा गरिदिएको छ । चालु आर्थिक वर्षमा पनि विपन्न परिवारको स्वास्थ्य बीमा र नविकरण गर्ने कार्यक्रम रहेको बताउनुभयो । बीमा गरेको तीन महिनापछि मात्रै प्रयोगमा आउने गर्दछ ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बीमा कार्यक्रम यहीको अस्पतालमा नहुँदा स्थानीयले स्वास्थ्य बीमा मार्फत् सेवा लिन भरतपुर पुग्नु पर्ने बाध्यता यो सम्झौतासँगै अन्त्य भएको बताउनुभयो । अस्पतालमा भएका सेवालाई अझै थप र प्रभावकारी बनाउँदै सहज स्वास्थ्य सेवा प्रदान गर्न आफूहरु लागिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “इच्छाकामनामा अति विपन्न जनसमुदायको बाक्लो बसोबास छ, उनीहरुलाई पनि बीमाको दायरामा ल्याएर सहज स्वास्थ्य सेवा दिन हामी लागिरहेका छौं ।”
सम्भव हुने उपचार यहीको अस्पतालमा गर्ने र थप उपचारका लागि भरतपुर लगायतका अस्पतालहरुसँग समन्वय गरिने उहाँको भनाई छ ।




















उज्यालो खबर









