गैँडाकोट- तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ६ का वडाध्यक्ष बल वहादुर गुरुङ पक्राउ परेका छन् । सोही वडाका वडा सचिव नवीन भुसाललाई कुटपिट गरेको सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले वडाध्यक्ष गुरुङ नियन्त्रणमा रहेको उज्यालोलाई जानकारी दिए । ठाडो निवेदनका आधारमा नियन्त्रणमा लिइएको हो अधिकारीले भने । बाँके घर भएका वडा सचिव भुसालको उक्त वडामा नयाँ पोष्टिङ रहेको बताइएको छ ।
केही दिन अगाडि भएको भलिबल प्रतियोगितामा स्टमेट भन्दा बढीको बिल सचिवले पास नगर्ने बताएपछि वडाअध्यक्षले आक्रमण गरेका थिए । घाइते वडा सचिव भुसालको घाँटी र अनुहारको भागमा चोट लागेको र उनलाई तत्कालै बन्दिपुर अस्पतालमा प्रारम्भिक उपचार पश्चात चितवन मेडिकल कलेजमा अस्पतालमा रिफर गरिएको थियो ।
प्रहरीका अनुसार अहिले उनको अवस्था सुधारोन्मुख रहेको छ । भोली घरबाट आफन्त आएपछी कस्तो प्रकृतिको जाहेरी पर्छ सोही अनुसार कार्वाही प्रक्रिया अगाडि बढ्ने समेत बताइएको छ । अध्यक्ष गुरुङले आक्रमण गरेपछि सचिव भुसाल फुत्किएर भागेका थिए ।

उज्यालो खबर