
काठमाडौं- गृहमन्त्री रमेश लेखकलाई कारबाहीको माग गर्दै दलित अधिकारकर्मीले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा केन्द्रीय कार्यालय, सानेपा पुगेको टोलीले विरोध प्रदर्शन गरेको हो ।
टोलीले केन्द्रीय कार्यालयका सचिव डा। प्रदीप पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा गृहमन्त्रीकै निर्देशनमा उनीहरूलाई पक्राउ पुर्जी जारी भएकाले कारबाही हुनुपर्ने उनीहरूको माग छ ।
कांग्रेस कार्यालय पुगेका उनीहरूले ‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।यही विषयमा हिजोको संसद् बैठकमा बोल्ने धेरैजसो सांसदहरूले प्रश्न उठाएका थिए । आज जारी संसद् बैठकमा पनि गृहमन्त्री लेखक र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरमाथि छानबिन गर्नुपर्ने माग उठेको छ ।