×

 

गैंडाकोट – गैंडाकोटमा जनक नमुना माध्यमिक विद्यालय खोप केन्द्रबाट आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपिभि खोप)  लगाउने कार्यक्रम  सुरुवात भएको छ । खोप कार्यक्रमको सुरुवात गर्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन यो खोप लगाउन आवश्यक भएको बताउनुभयो । धेरै महिलाहरुको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट भएकोले यसलाई निर्मुल गर्न यो खोपले काम गर्ने उहाँको विश्वास थियो ।

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले खोप कार्यक्रम सबैले दायित्व निर्वाह गर्न र किशोरीहरुलाई खोप लगाउन अनुरोध गर्नुभयो । महिलाहरुलाई हुने पाठेघरको मुखको क्यान्सरबाट अबका पुस्ताका किशोरीहरुलाई बचाउन एचपिभि खोपले मद्त गर्ने हुनाले कोही नछुटुन भन्दै १०–१४ बर्षका किशोरीहरुलाई खोप लगाउन अनुरोध गर्नुभयो ।

गैँडाकोटका तीन हजार चारसय ६६ किशोरीहरुलाई आजदेखि एचपिभि खोप लगाईने छ। गैंडाकोटका १८ वटै वडाहरूमा ६० खोप कार्यकर्ता र १२० स्वयंसेविका मार्फत खोप दिन लागिएको हो । गैंडाकोट नगरपालिका भित्रआजदेखि माघ २८ गतेसम्म कक्षा ६ देखि १० कक्षासम्मका तीन हजार चारसय ६६ जना छात्राहरूलाई खोप लगाईने गैंडाकोट नगरपालिकाका जनस्वास्थ्य अधिकृत माधव आचार्यले जानकारी दिनुभयो।

नेपालमा माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई खोप लगाइने छ । पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१–८२ सञ्चालन गर्ने निर्णय गरेको हो । नवलपुरमा १७ हजार किशोरीलाई महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने भएको छ ।

तपाईको प्रतिक्रिया