
गैंडाकोट- गैंडाकोटका तीन हजार चारसय ६६ किशोरीहरुलाई आजदेखि एचपिभि खोप लगाईने भएको छ।गैंडाकोटका १८ वटै वडाहरूमा ६० खोप कार्यकर्ता र १२० स्वयंसेविका मार्फत खोप दिन लागिएको हाे ।
गैंडाकोट नगरपालिका भित्रआजदेखि माघ २८ गतेसम्म कक्षा ६ देखि १० कक्षासम्मका तीन हजार चारसय ६६ जना छात्राहरूलाई खोप लगाईने गैंडाकोट नगरपालिकाका जनस्वास्थ्य अधिकृत माधव आचार्यले जानकारी दिनुभयो।
सबैभन्दा धेरै जनक नमुना माविमा ४५१, कालिका माविमा ३१८, रत्नराज्य लक्ष्मी माविमा २४८, सुर्योदय बोर्डिङ्गमा १९३, लक्ष्मी मावि अमरापुरीमा १८२ छात्रा रहेका छन्। त्यस्तै सबैभन्दा थोरै शिसु निकेतन ईङ्गलिस स्कुल गैंडाकोटमा २ मा ३ जना र विरेन्द्र आवि रतनपुरमा २ जना छात्रा रहेका छन् ।
खोप अवधिभर विद्यालय भन्दा बाहिर रहेका उक्त उमेर समूह र कक्षामा अध्ययनरत औद्योगिक क्षेत्र तथा सडक निर्माण र बिभिन्न पेशा व्यवसायका कारण बाबुआमासँग रहेका १५० जना छात्रालाई पनि यस खोप अभियानमा समावेश गर्ने समेत लक्ष्य रहेको छ ।
नेपालमा आज माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई खोप लगाइने छ । पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१र८२ सञ्चालन गर्ने निर्णय गरेको हो ।नवलपुरमा १७ हजार किशोरीलाई महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने भएको छ ।