
गैँडाकोट- नवलपुरको गैँडाकोटका भूमिहिनहरुले आफुहरुलाई तत्काल लालपुर्जा उपलव्ध गराउन राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरुसमक्ष माग गरेका छन् । शनिवार गैँडाकोट नगरपालिकाले राष्ट्रिय भूमि आयोगको नेतृत्व सँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै भूमिहिनहरुले राज्यले पटक पटक भूमिहिनहरुलाई आश्वासन दिए पनि कार्यान्वयन नगरेको भन्दै आक्रोश व्यक्त गरे ।
राष्ट्रिय भूमि अधिकार मञ्च नवलपुरका उपाध्यक्ष मायादेवी ठकुरीले भूमिहिनहरुलाई भोटबैकंको रुपमा प्रयोग गरिएको बताउनुभयो । विगत लामो समयदेखि जग्गा भोगचलन गरेको भएपनि लालपुर्जा प्राप्त गर्न नसक्दा भूमिहिनहरुमा नैराश्यता छाएको बताउनुभयो ।
छलफल कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले भूमिहिनहरुको समस्या जटिल रहेको भन्दै आफुहरुले समस्या समाधानका लागि पहल गर्न आयोगको टालीलाई अनुरोध गर्नुभयो । नगरपालिकाले भूमिहिन तथा अव्ववस्थित बासोबासीहरुको तथ्याङ्क संकलन गरिरहेको भन्दै उहाँले आवश्यक सहजिकरण गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
राष्ट्रिय भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजालले भूमिहिन तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि आयोगले निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले आयोग गठन भएको ३ महिना वितेपनि कानूनी जटिलताका कारण समयमै काम गर्न केहि ढिलाई भएको बताउनुभयो । सरकारले जारी गर्न लागेको अध्यादेश मार्फत कानूनी जटिलताहरु हट्ने र लगत्तै आयोगले आफ्नो कामलाई रफ्तारमा अघि बढाउने उहाँले जानकारी दिनुभयो ।
छलफल कार्यक्रममा बोल्दै भूमि आयोगका जिल्ला अध्यक्ष तारापति खरेलले सरकार फेरवदलहुँदा लालपुर्जा वितरणमा ढिलाई भएको भन्दै अव आयोगले बास्तविक भूमिहिनहरुलाई पुर्जा वितरणमा ढिलाई नगर्ने आश्वासन दिनुभयो ।
भूमिहिन दलित, भूमिहिन सकुम्वासी तथा अव्यवस्थित बसोबासी सम्बन्धी समस्या समाधानका लागि आयोजित छलफल कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नं. १ का अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी, वडा नं. ३ का अध्यक्ष शिवकान्त तिवारी वडा नं. ४ का अध्यक्ष तेजप्रसाद घिमिरे, वडा नं. ६ का अध्यक्ष सुभास चापागाई, वडा नं. ७ का अध्यक्ष होमनाथ सापकोटा, वडा नं. ९ का अध्यक्ष धामनाथ सापकोटा, वडा नं. ११ का अध्यक्ष गोविन्द प्रसाद सुवेदी, वडा नं. १२ का अध्यक्ष चक्रपाणी कंडेल र वडा नं. १८ का अध्यक्ष तिलबहादुर चितौरेले आआफ्ना वडामा भूमिहिन तथा अव्यवस्थित बसोबासी सम्बन्धी समस्याका बारेमा आयोगको टोलिलाई जानकारी गराउनुभएको थियो ।
गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीको अध्यक्षता तथा राष्ट्रिय भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रमको सञ्चालन तथा समन्वय प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले गर्नुभएको थियो । कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपमेयर शान्ति कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो ।