
गैँडाकोट – पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको गैँडाकोट इङ्लिस स्कुलमा शुक्रबारदेखि खेलकुद सप्ताह सुरु भएको छ । खेलकुद सप्ताहको एक समारोहका विच गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले उद्घाटन गर्नुभयो । शुक्रबारदेखि सुरु भएको खेलकुद सप्ताह माघ १८ गतेसम्म सञ्चालन हुने गैँडाकोट इङ्लिस स्कुलका प्राचार्य हिरालाल अर्यालले बताउनुभयो । खेलकुद सप्ताह अवधिभर स्कुलमा ५० भन्दा बढी खेलकुदहरु सञ्चालन हुने उहाँले बताउनुभयो ।
खेलकुद सप्ताहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले गैँडाकोट इङ्लिस स्कुलले खेलकुदको विकासका लागि सप्ताहव्यापी कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले खेलको माध्यमबाट मानिसलाई स्वस्थ गराउन स्कुलले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
स्कुलका अतिरिक्त कृयाकलाप विभाग प्रमुख तथा प्लस २ संयोजक जिवन दवाडीले बार्षिक क्यालेन्डर अनुसार स्कुलमा खेलकुद सप्ताह सुरु भएको बताउदै खेलकुद सप्ताहले विद्यार्थीहरुमा अन्तरनिहित क्षमता प्रस्फुटनमा सहयोग मिल्ने बताउनुभयो । उहाँले खेलको माध्यामबाट विद्यार्थीहरुमा भएको क्षमतालाई बाहिर ल्याउन प्रतियोगिताले मद्धत पुग्ने बताउनुभयो ।खेलकुद सप्ताहमा एथलेटिक्सका विभिन्न खेलकुदहरु, दौड, खोखो, अन्तर विद्यालय स्तरीय फुटवल प्रतियोगिता तथा विद्यार्थी शिक्षक तथा अभिभावकहरुका विचमा ३ किलोमिटर लामो मिनि म्यारथन लगायतका खेलकुदहरु आयोजना गरिएको विद्यालयले जनाएको छ ।
स्कुलका प्राचार्य हिरालाल अर्यालको अध्यक्षतामा भएको खेलकुद सप्ताहको उद्घाटन कार्यक्रममा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटा, गैँडाकोट वडा नं. १ का अध्यक्ष सुरेन्द्र रेग्मी, वडा नं. २ का अध्यक्ष प्रकाश सापकोटा, गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की, भलिवलका राष्ट्रिय रेफ्री गजेन्द्र वन, बक्सिङका प्रशिक्षक दलबहादुर राना लगायतले बोल्नुभएको थियो ।
१९ वर्ष अघि स्थापना भएको गैँडाकोट नगरपालिका भित्रको एक मात्र “क” बर्गको गैँडाकोट इङ्लिस स्कुलमा हाल १४०० जना विद्यार्थीहरु अध्ययनरत छन् भने १३७ जना शिक्षक तथा कर्मचारीहरु आवद्ध रहेका छन् । लगातार २ पटक अन्तराष्ट्रिय स्कुल अवार्ड प्राप्त गर्न सफल गैँडाकोट इङ्लिस स्कुलले विस २०८० र २०८१ को राष्ट्रिय शिक्षा दिवसमा उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको थियो ।