
गैंडाकोट। गैंडाकोट नगरपालिकाले आधारभूत अस्पतालको सेवा सञ्चालन र नवनिर्मित भवनको उद्घाटन गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी आधारभूत अस्पतालको सेवा सञ्चालन, नवनिर्मित भवनको उद्घाटन तथा नागरिक सेवा केन्द्रको सेवा शुभारम्भ गरेको हो ।
नगर प्रमुख मदनभक्त अधिकारीले भवन उद्घाटन र सेवा शुभारम्भ गराउनु भएको हो । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख अधिकारीले नगर अस्पताल भए पनि नगरका सबै क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुग्न नसक्दा यो अस्पताल सञ्चालनमा ल्याईएको बताउनुभयो । उहाँले नगरपालिका नगरवासीको स्वास्थ्यप्रति संवेदनशील रहेको भन्दै आगामी दिनमा अस्पतालको स्तरबृद्धि गरिंदै लगिने बताउनुभयो ।
पत्रकारहरुसँग बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले पाँच शैयाको अस्पताल सेवा शुभारम्भ गरिएको जानकारी दिनुभयो । स्थानीय तह भनेको जनताले खोजेको, रोजेको र प्रिय सरकारको भएको भन्दै उहाँले भन्नुभयो “ठूला मेघा प्रोजेक्ट स्थानीय सरकारले गर्न सक्दैन । सीमित स्रोत साधनका बाबजुद पनि जनतासँग दिनानुदिन जोडिने विषयहरु शिक्षा, स्वास्थ्य जस्ता विषयसँग स्थानीय सरकार जोडिईरहेको अवस्था छ ।”
गैंडाकोट नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि जस्ता जनजीविकासँग जोडिएका विषयहरुलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको भन्दै प्रमुख प्रशासकीय अधिकृत खनालले भन्नुभयो “सोही अनुरुप हामीसँगै यस अघि नै १५ शैयाको नगर अस्पताल सञ्चालनमा रहेको छ । एउटा मात्रै अस्पतालले नागरिकलाई स्वास्थ्यका आधारभूत सेवा दिन सकेनौं, धेरै नागरिक स्वास्थ्य सेवाबाट टाढा रहनु भयो । नगर कार्यपालिकाको निर्णय अनुसार यो आधारभूत अस्पताल सञ्चालन गर्दैछौं ।”
यो आधारभूत अस्पताललाई आकस्मिक सेवा सहितको चौबीसै घण्टा सेवा दिने गरी सेवा शुभारम्भ गरिएको भन्दै उहाँले यस अस्पतालमा पनि स्वास्थ्य बीमालाई जोड्न आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हाम्रो उद्देश्य भनेको बीमासँग जोड्ने नै हो ।”
यहीबाट स्वास्थ्यको विशिष्टिकृत सेवा दिन सक्ने जनशक्ति र साधनस्रोत नगरपालिकासँग अहिले नभएको भन्दै उहाँले विस्तारै यस अस्पताललाई विशिष्टिकृत सेवा सञ्चालन गर्ने दीर्घकालिन सोच नगरपालिकाको रहेको बताउनुभयो । हाललाई चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालसँग नगरपालिकाले सम्झौता गरेर नगरवासीलाई सहज रुपमा विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गरेका गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “गैंडाकोटवासीले सिएमसीमा २५ प्रतिशत छुटमा सेवा पाउने गरी सम्झौता गरेका छौं ।”
पत्रकारहरुसँग कुरा गर्दै नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले बि.सं. २०५४ सालमा उपस्वास्थ्य चौकी, २०७० सालमा स्वास्थ्य चौकी र हाल आएर पाँच शैयाको आधारभूत अस्पतालमा स्तरोन्नती गरिएको जानकारी दिनुभयो ।
उहाँले आधारभूत अस्पतालमा स्तरोन्नती गरिएसँगै आकस्मिक, फर्मेसी, एक्सरे, भिडियो एक्सरेलगायतका सेवाहरु थप भएको बताउनुभयो । आचार्यले भन्नुभयो “यी सबै सेवाहरु चौबीसै घण्टा उपलब्ध हुने गरी व्यवस्थापन गरिएको छ ।”तत्कालका लागि तीन जना मेडिकल अधिकृतबाट सेवा दिईने भन्दै उहाँले अन्य प्राविधिक पदमा पनि विज्ञापन गरेर पदपूर्ति गरिसकिएको जानकारी दिनुभयो ।
कार्यक्रमममा नगर उपप्रमुख शान्ती कोइराला, निवर्तमान नगरप्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कँडेल, समाजसेवी धनप्रसाद सापकोटा, कांग्रेस नगर सभापति बद्री सापकोटा, एमाले अध्यक्ष कृष्ण कँडेल, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल लगायतले बोल्नु भएको थियो । अस्पतालका अध्यक्ष रत्नप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम चुडामणि शर्मा कँडेलले सञ्चालन गर्नुभएको थियो ।