
भरतपुर – माघेसंक्रान्ति मेला व्यवस्थित गर्न देवघाटमा सवारी आवागमन एकतर्फी संचालन हुने भएको छ । भोलि माघ १ गते माघेसंक्रान्ति मेला एवम् देवघाट महामहोत्सवको अवसरमा सवारी आवागमन अत्यधिक हुने हुँदा रामनगर देखि देवघाट हुँदै आँपटारी निस्कने सडक एकतर्फी रुपमा संचालन हुने भएको हो ।
पूजापाठ र स्नान गर्न मेला भर्न आउने भक्तजनको सहजताका लागि मेलाको कारण बढ्ने सवारी चापलाई ध्यान दिँदै सडक एकतर्फी सञ्चालन हुने जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ ।
सोमबार एक सूचना जारी गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मेलाका अवसरमा सवारी आवागमन अत्यधिक हुनेहुँदा रामनगर देखि देवघाट हुँदै आँपटारी निस्कने सडक एकतर्फी रुपमा संचालन हुने जानकारी गराएको छ । चितवन ट्राफिकका अनुसार रामनगरदेखि देवघाट सम्म जानेमात्र र देवघाट देखि आँपटारी सम्म आउने मात्र व्यवस्था गरिएको छ।
विरामीबोकेको एम्बुलेन्स,सुरक्षानिकाय,आपातकालीन सवारीसाधन बाहेकका अन्य सवारीसाधनको हकमा नियम लागू हुने ट्राफिक प्रहरी प्रमुख गायात्रिराज शर्माले बताए ।
“आज पौष २९ गते बेलुकी ६ बजेदेखि माघ २ गते बिहान ६ बजेसम्म यो नियम लागू हुनेछ। ट्राफिक प्रहरी प्रमुख शर्माले भने।” मेलामा आउने भक्तजनहरूको सवारी पार्किङका लागि दुईपाङ्ग्रे सवारीसाधनको हकमा सिताराम संस्कृत माविको परिसरभित्र र चारपाङ्ग्रे अन्य सवारीसाधनको हकमा विद्यालयको ठीक अगाडि रहेको सतनचुली सामुदायिक वनको समथर भूभागमा व्यवस्था गरिएको छ।”
यसैगरी देवघाटधाम नजिक रहेका भक्तजनहरूलाई सकेसम्म सवारी चापको कारण पैदल आई दर्शन वा सक्रान्ति स्नान गर्न चितवन ट्राफिकले अनुरोध गरेको छ।चितवन ट्राफिकका अनुसार मेला परिसरमा सिसिक्यामेरा र सादा पोशाकका प्रहरीको विशेष निगरानी हुनेछ।
हरेक वर्ष माघ १ गते देवघाटधाममा विशेष मेला लाग्ने गरेको छ। जिल्ला भित्र बाहिर गरी लाखौं भक्तजन मेलाका लागि आउने गर्दछन् । यस्तै यो वर्ष माघमहिनासम्म देवघाट महामहोत्सब भोलिदेखि सुरु हुँदैछ। चर्चित कथाबाचकहरुको विशेष प्रवचन सहित भजनकीर्तन हुने बताइएको छ।