
चितवन- दाउन्ने एग्रो फार्म लिमिटेडले रु.१० करोडको सर्वसाधारणका लागि शेयर (आईपिओ) जारी गर्ने भएको छ । फार्मको स्थापनापछिको सातौं र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु.१० करोडको आईपिओ जारी गर्ने निर्णय गरेको हो ।
नवलपरासी विनयीत्रिवेणी गाउँपालिका वडा नं.३ को सर्दीमा करिब ११ विगाहामा फैलिएको फार्ममा कुखुरा पालन गर्दै आएको यो कम्पनीको अहिले चार लाख कुखुरा रहेका छन् । निकट भविष्यमै ६ लाख कुखुरा पु¥याउने लक्ष्य कम्पनीले लिएको छ ।
कुखुरा पालन क्षेत्रमा आईपिओ जारी गर्न लागेको यो पहिलो कम्पनी हो । कम्पनीको साधारणसभाले रघुनाथ भट्टको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिका सञ्चालक सदस्यहरुमा विनोद पोखरेल, विपिन पोखरेल, हेमराज बडाल र हिमालय पौडेल रहनु भएको छ ।
साधारण सभाले प्रबन्ध सञ्चालक बिनोद पोखरेलद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरेको छ । बि।सं। २०७४ मा स्थापना भएको यस कम्पनीमा शुरुवातमा एक लाख कुखुरा पालन गरिएको थियो । क्रमशः बृद्धि गर्दै लगिएको हो । कम्पनीका प्रबन्ध सञ्चालक पोखरेलका अनुसार हाल दैनिक तीन लाख ५० हजारभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । उत्पादित अण्डा मध्ये केहीलाई दाउन्ने ह्याप्पी एगको ब्राण्डमा ब्राण्डिङ्ग गरी १५ वटा र ३० वटाको क्रेट बनाएर बजारमा पठाउने गरिएको छ । यहाँको अण्डा देशका प्रमुख शहरहरुसँगै ग्रामीण क्षेत्रमा समेत पठाईने गरिएको छ ।
पोखरेलका अनुसार दाउन्नेको फार्ममा स्वचालित, अत्याधुनिक उपकरण जडान गरिएका छन् । ती उपकरण जर्मन र मलेसियाबाट आयात गरिएका हुन् । उहाँले भन्नुभयो “अत्याधुनिक तवरबाट कुखुरा पालन गरिएकाले अण्डा उत्पादनको प्रतिशत उच्च रहेको छ ।”
नेपालमा लामो समयसम्म कुखुरा पालन क्षेत्रमा अनुभव संगालेका कृषक र व्यवसायीहरुको लगानीमा यो कम्पनी स्थापना भएको हो । यहाँका लगानीकर्ताहरुको पोल्ट्रीसँग सम्बन्धित विभिन्न उद्योगहरुमा लगानी रहेको छ । जसका कारण लागत मूल्य घटाउन र गुणस्तरीय अण्डा उत्पादन गर्न सफल भएको अध्यक्ष भट्ट बताउनुहुन्छ । नेपालमा ठूलो संख्यामा कुखुरा पालन गर्ने यो पहिलो कम्पनी हो । कम्पनीले शेयर निष्काशनका लागि सिटीजन्स् क्यापिटलसँग सम्झौता गरिसकेको छ ।