काठमाडौँ । सौराहाको बाघमारा सामुदायिक वन परिसरमा भइरहेको हात्ती महोत्सवमा जंगली हात्ती माकुना प्रवेश गरेर कार्यक्रम बिथोलिदिएको छ ।पाँच दिनदेखि सञ्चालित १८औँ हात्ती तथा पर्यटन महोत्सवको अन्तिम दिन आज समापन कार्यक्रममा दर्शकको उल्लेख्य भीड थियो । समापन कार्यक्रमअन्तर्गत पुरस्कार वितरण चलिरहेको थियो ।
सोही क्रममा बाघमारा सामुदायिक वनबाट माकुना हात्ती कार्यक्रम स्थल प्रवेश गर्यो । जंगली हात्ती प्रवेशपछि कार्यक्रम स्थलमा केहीबेर होहल्ला र भागाभाग भएको थियो । सुरक्षाकर्मीको टोलीले भगाउने प्रयास गरे पनि जंगली हात्ती फर्की-फर्की आउने प्रयास गरेको थियो ।महोत्सव हेर्न पुगेका सर्वसाधारणलाई सुरक्षित स्थलमा जान अनुरोध गर्दै सुरक्षाकर्मीले भगाएपछि मकुना हात्तीले महोत्सवस्थलमा क्षति पुर्याउन पाएन ।महोत्सवका संयोजक रामकुमार अर्यालले जंगली हात्तीलाई सुरक्षाकर्मीले भगाएपछि अवस्था सामान्य भएको बताए ।
बाघमारा सामुदायिक वन निकुञ्जबाट जंगली जनावर आवतजावत गर्ने कोरिडर रहेको कारण वन्यजन्तुलाई डिस्टर्ब नहुने गरी कार्यक्रम गर्न निकुञ्जले अनुरोध गर्दै आएको थियो । सो स्थानमा ठूलो आवाज निकालेर गीत बजाउने, कार्यक्रम गर्ने कार्य नगर्ने सहमति गरे पनि आयोजकले भने दिनदिनै कलाकार लगेर गीत तथा नृत्य प्रस्तुत गरेर ठूला आवाजमा गीत बजाइरहेका छन् ।चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले कतिपय सहमति आयोजकले कार्यान्वयन नगरेकाले निकुञ्जले कार्यक्रमबारे समीक्षा गर्ने बताएका छन् ।



उज्यालो खबर




