
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने आधार देखिएको दाबी गरेका छन् ।झापामा आयोजित माओवादीको खबरदारी सभालाई सम्बोधन गर्दै उनले हालै भएको स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघको निर्वाचनको परिणामले काँग्रेस र एमालेलाई बिस्तारै जनताले अस्वीकार गर्न थालेको देखिएको जिकिर गरे ।
उनले भने, ‘हिजो म सरकारबाट बाहिरिँदै गर्दा माओवादी सकियो अब भनेर प्रचार गरेका थिए, अहिले एक्लै जाँदा स्थानीय तहको उपनिर्वाचनको परिणामले उनीहरूको प्रचार खण्डन गरेको छ । माओवादीले त कहिले काँग्रेसलाई, कहिले एमालेलाई ठूलो पार्टी बनाउने गल्ती गरेको रहेछ । अब एक्लै लडेर दुवैलाई सिध्याइ दिन्छौँ ।’प्रचण्डले काँग्रेस र एमालेसहित अन्य दलहरू मिलेको ठाउँमा पनि माओवादी एक्लैले जितेर देखाइसकेको सुनाए ।
‘हामी अब आउने निर्वाचनमा पहिलो पार्टी बन्छौँ’, उनले भने, ‘तपाईँहरूले श्रीलंकामा देख्नुभयो नि ! अघिल्लो निर्वाचनमा कमजोर भनेर तीन सीटमात्रै ल्याएको एनपीपी, दुई-दुई पटक हतियार उठाएर सशस्त्र क्रान्ति गरेको पार्टी, अहिले अत्यधिक बहुमत, झण्डै दुई तिहाइ ल्याएको छ । अहिलेको राष्ट्रपतिले पनि उठाएको मुद्दा भनेको भ्रष्टाचारकै हो । यही भ्रष्टाचार, सुशासन र आर्थिक समृद्धिको मुद्दाले नै २०८४ हामीलाई पहिलो पार्टी बनाउँछ । तपाईँहरू ढुक्क भएर लाग्नुस् ।