काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेबाट निष्कासित नेता भीम रावललाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेकपा (एकीकृत समाजवादी) मा आउन रावललाई आह्वान गरेका हुन् ।एमालेभित्र अहिले धेरै उकुसमुकुस रहेको भन्दै उनले अन्य नेताहरू पनि एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी नेतृत्वबाट हटे मात्र एमालेभित्रको उकुसमुकुस शान्त हुने उनको भनाइ छ । भीम रावललाई पार्टीबाट निष्कासन गर्ने एमालेको निर्णयका विषयमा सञ्चारकर्मीहरूले सोधेको जिज्ञासामा उनको यस्तो प्रतिक्रिया आएको हो ।
एमालेभित्र प्रश्न उठाउने जो कोहीले सजाय भोग्नुपर्ने अवस्था रहेको भन्दै उनले यसबारेमा आफूले एमालेमै रहँदा प्रश्न गरेको भए पनि त्यसबेला प्रतिशोधका लागि प्रश्न आयो भन्ने टिप्पणी भएको सुनाए ।
‘भीम रावल कमरेड त्यहाँबाट निक्लिनुभयो वा निकालियो, त्यो अवस्था छँदै थियो । नेकपा एमालेभित्र प्रश्न उठाएपछि मैले धेरै अघि भनेको थिएँ । त्यतिखेर व्यक्तिगत विरोध, प्रतिशोधका रूपमा लिइयो,’ उनले भने, ‘कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन् । भीम रावलले चाकरी गरेनन् ।’
उनले एमालेभित्र धेरै नेताहरू अहिले उकुसमुकुसमा रहेको समेत बताए । उनले भने, ‘नेपालमा पार्टी नभएर दुःख पाएको हो की पार्टी राम्रो नभएर हो भन्दा राम्रो पार्टी नभएर दुःख पाएको हो । म हाम्रो पार्टीमा आउन आह्वान गर्दछु ।



उज्यालो खबर




