×

 

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज हुने पहिलो खेलमा काठमान्डु गुर्खाज र चितवन राइनोज भिड्दै छन् । गुर्खाज र राइनोजबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहान सवा ९ बजेदेखि सुरु हुनेछ ।

काठमाडौं र चितवन टोलीबीच केही समानता पनि छ । दुवै टोलीको मार्की तथा कप्तानमा राष्ट्रिय टोलीका आक्रमक ब्याटिङ गर्ने खेलाडी छन् । मिडियम पेसर तथा लोअर अर्डरमा ब्याटिङ गर्ने करण केसीले काठमान्डुको कप्तानी गर्नेछन् भने युवा अलराउण्डर कुशल मल्लले चितवनको कप्तान सम्हाल्नेछन् ।

करणले यसअघि फ्रेन्चाइज प्रतियोगिताहरुको नेतृत्व गरिसकेको भएपनि कुशल मल्ल एनपीएलमार्फत नै कप्तानी डेब्यु गर्दैछन् । मल्ल यस एनपीएलका सबैभन्दा कान्छा मार्की खेलाडी र कप्तान हुन् ।

काठमान्डुमा करणसहित राष्ट्रिय टिमका भिम शार्की छन् भने राष्ट्रिय टिमबाट खेलेका शाहब आलम र रासिद खान पनि छन् । यसबाहेक घरेलु क्रिकेट खेलिरहेका शंकर राना सुमित महर्जन कृष्ण कार्की यू१९ विश्वकप खेलेका दिपेश कँडेल पनि छन् । विदेशी खेलाडीको आगमनपछि काठमान्डु टिम सन्तुलित देखिएको छ ।

चितवनको कप्तान युवा भएपनि टिममा भने युवा र भेट्रान खेलाडीहरुको मिश्रण छ । चितवनले राष्ट्रिय टिमका अनुभवी खेलाडी शरद भेषावकरलाई समेत अक्सनबाट अनुबन्ध गरेको छ । यस्तै हाल राष्ट्रिय टिममा रहेका बाँयाहाते मिडियम पेसर रिजन ढकाल छन् ।

यस्तै विदेशी खेलाडीमा पाकिस्तानका भेट्रान बलर सोहेल तनविर र इंग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारालाई भित्र्याएको छ । यस्तै टीयू मैदानमा कुशल मल्लकै कीर्तिमान तोडेका नामिबियाका जान निकोलस लफ्टी इटन पनि चितवन टिममा छन् ।

चितवनले इंग्ल्याण्डकै युवा ब्याटर लुक बेन्केन्सटाइनलाई पनि अनुबन्ध गरेको छ भने यस टिममा अफगानिस्तानका स्टार मोहम्मद नावीका छोरा हसन इसिखिल पनि छन् ।

तपाईको प्रतिक्रिया