चितवन । खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादनको समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा सम्पन्न गरेका योजना, नीति तथा कार्यक्रमहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्तिक २८ गते नगरपालिकाको सभाहलमा सञ्चालन भएको समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८०र८१ मा नगरपालिका
भित्रका विषयगत शाखा र १३ वटै वडाबाट वार्षिक रूपमा सञ्चालन भएका आयोजना, कार्यक्रमको भौतिक र वित्तीय प्रगति, योजना तथा कार्यक्रमको कार्यान्वयनमा आएका समस्या तथा चुनौती र आगामी दिनमा नगरपालिकाले अबलम्बन गर्नु पर्ने समाधानका नीतिगत उपायको बारेमा अन्तरक्रिया गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै खैरहनी नगरपालिकाका नगरप्रमुख शशी कुमार खनियाले सबैको साथ सबैको विश्वासले खैरहनीबासीले अनुभूति गर्ने गरी कार्यसम्पादन गर्ने प्रयत्न गरेको उल्लेख गर्नु भयो । उहाँले नगरपालिका भित्र रहेका समस्याको समाधान तथा नगरबासीको बिकासको आकांक्षा सम्बोधन गर्ने गरी कार्यसम्पादन गर्न सरोकारवाला सबैको सकारात्मक सहयोग र समन्वय रहनु पर्ने विषयमा जोड दिनु भयो । नगर प्रमुख खनियाले गत आर्थिक वर्षमा नगरपालिकाबाट भएका कार्यहरुको सवल पक्ष, सुधार गर्नुपर्ने काम, चुनौंति र अपनाउनु पर्ने रणनितीको बारेमा आफ्नो आफ्नोतर्फबाट सकरात्मक पहल कदमी लिन सरोकारवाला सबैमा अनुरोध गर्नुभयो। सधैं
झैं नगरपालिकाले कार्यान्वयन गरेका विकास योजनाहरुलाई गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न सबै पक्षसँग हातेमालो गर्दै अगाडि बढ्ने नगर प्रमुख खनियाको बताउनु भयो ।
समीक्षा कार्यक्रममा बोल्दै नगर उप प्रमुख कविता उप्रेतीले विकास निर्माणको गुणस्तर र दिगोपनाको लागी जनप्रतिनिधि तथा कर्मचारी मात्रै
नभएर सरोकारवाला सबैको सार्थक र निरन्तर पहल हुनु पर्ने बताउनु भयो । उपप्रमुख उप्रेतीले नगरपालिकाले सधैं जनअपेक्षालाई शिरोधार्य गरेर कार्यसम्पादन गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरुमा समेत यसलाई निरन्तरता दिने बताउनु भयो । वार्षिक समीक्षा कार्यक्रममा नगरपालिकाको सम्पूर्ण शाखा र वडा समेतबाट आर्थिक वर्ष २०८०र८१ मा भएका कार्य सम्पादनबाट नगरपालिकाले प्राप्त गरेका उपलब्धिको सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले प्रस्तुतीकरण गर्नु भएको थियो ।
नगरप्रमुख शशी कुमार खनियाको अध्यक्षतामा सम्पन्न भएको वार्षिक समीक्षा कार्यक्रममा नगरपालिकाको जनप्रतिनिधि, कर्मचारी तथा अन्य सरोकारवाला व्यक्तिको सक्रिय सहभागिता रहेको नगरपालिकाको योजना शाखा प्रमुख नविनराज रुवालीले जानकारी दिनुभयो ।



उज्यालो खबर




